काठमाडौँ । स्थानीय तयारी पोसाक उत्पादकहरूले कर प्रणाली झन्झटिलो भएको बताएका छन्।
आइतबार नेपाल स्थानीय तयारी पोसाक संघ र न्यूरोड कर कार्यालयले संयुक्त रूपमा आयोजना गरेको कर व्यवस्थाबारे अन्तर्क्रिया कार्यक्रममा उद्योगीहरूले यस्तो बताएका हुन्।
संघका अध्यक्ष किशोर नेपालले कर प्रणाली झन्झटिलो हुँदा उद्योगीलाई उद्योग सञ्चालन गर्न समस्या परेको बताए।
सरकारले कर प्रणाली सहज गरिदिए राजश्व अझै बढ्ने उनको भनाइ छ। उद्योगीलाई वास्तविक कारोबार गर्न वातावरण बनाइदिन उनले आग्रह गरेका छन्।
कच्चा पदार्थ किन्दा बढी मूल्यमा किन्नु पर्ने तर बिल कम मूल्यको आउँदा उद्योगी मारमा परेको उनले बताए।
संघका उपाध्यक्ष राजु कार्कीले कर अधिकृत र व्यवसायीबीच चोर र पुलिसको भन्दा पनि नङ र मासुको जस्तो सम्बन्ध हुनु पर्ने बताए।
उद्योगी सुनिल अग्रवाले भन्सार बढी हुँदा आयातित सामानसँग प्रतिस्पर्धा गर्न नसकिएको बताए।
रोजगारी वृद्धिमा गार्मेन्ट उद्योगको पनि योगदान बढी भएकाले सरकारले यस्ता उद्योगले ल्याउने कच्चा पदार्थमा छुट दिनु पर्ने उनको भनाइ छ।
कर कार्यालय प्रमुख युवराज बस्नेतले कर प्रणालीमा सुधार गर्दै जाने बताएका छन्। उनले कर प्रणालीमा भएका समस्या समाधान गर्दै जाने प्रतिबद्धता व्यक्त गरे। उनले व्यवसायीहरूलाई वास्तविक कारोबारमै सामान किनबेच गर्न पनि आग्रह गरेका छन्।







