काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले दरबार हत्या काण्डमा राजा ज्ञानेन्द्र शाहको संलग्नता भएको प्रमाण पुर्याएर उनीमाथि कारबाही गर्न दलहरुलाई चुनौती दिएका छन् ।
उदयपुरको बेलका नगरपालिकाको रामपुरमा शुक्रबार आयोजित राप्रपा बेलका नगर समितिले आयोजना गरेको सभामा बोल्दै उनले बिना प्रमाण र आधारमा राजालाई उक्त हत्या काण्डमा बदनाम गराउने उद्देश्यले दलहरूले मुछ्ने प्रयास गरेको बताए ।
‘दरबार हत्या काण्ड भएको बेलाका प्रत्यक्षदर्शीहरू अहिले पनि जीवितै छन् उनीहरूसँग बयान लिएर, प्रमाण जुटाएर कारबाही गरे भइगयो नि’, उनले भने । बिना प्रमाण कसैलाई बदनाम गराउने उद्देश्यले जथाभाबी बोल्न नहुने उनले बताए ।
उनले दरबार हत्या काण्डपछि काँग्रेस, एमालेले उनै ज्ञानेन्द्रलाई श्रीपेच लगाएर खुट्टामा दाम चढाएर राजा बनाएको स्मरण गर्न आग्रह समेत गरेका छन् । ‘आफैँ राजा बनाउने अनि आफैँ राजालाई हत्यारा भनेर आरोपित गर्ने ?’, उनले भने ।
उनले २०४६ सालको परिवर्तनपछि एउटै पात्र र एउटै प्रवृत्तिबाट देश सञ्चालन हुँदा देशमा विकास हुन नसकेको बताए । प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र जे भने पनि असफल तिनै पार्टी र त्यही नेताबाट शासनको निरन्तरताले मुलुकले प्रगति गर्न नसकेको उनले आरोप लगाए ।