धनगढी । नेपाली कांग्रेसकी नेतृ तथा कैलाली निर्वाचन क्षेत्र नम्बर ५ की प्रतिनिधिसभाकी उम्मेदवार डा.आरजु राणा देउवाले बाम गठबन्धन ‘दाम गठबन्धन’ भएको संज्ञा दिएकी छन् ।
आगामी मंसिर २१ गते हुने निर्वाचनको प्रचारप्रसारका क्रममा आज फुलबारीका अगुवा कार्यकर्तासँगको भेटघाटमा उनले भनिन्, ‘बाम गठबन्धनले चुनावमा मत किन्न खोज्दैछ । तर, नेपाली कांग्रेस भने जनताको मन जितेर मत माग्नेछ ।’
वामगठबन्धनले अधिनायकवाद र लुटतन्त्र मच्चाउन खोजेको आरोप लगाउँदै नेतृ राणाले माओवादी केन्द्र अध्यक्ष प्रचण्डले देशको ढुकटी रित्याएर कार्यकर्ताको खल्ती भर्ने योजना बुनिरहेको आरोप लगाइन् ।
देशमा प्रजातन्त्र, राष्ट्रियता बलियो बनाउन र समृद्ध राष्ट्र निर्माण गर्न नेपाली कांग्रेस बलियो हुनुपर्नेमा जोड दिइन् । देशमै सबैभन्दा बढी मत लिएर क्षेत्र नम्बर ५ वाट नेपाली कांग्रेसलाई जिताउन कार्यकर्तालाई उनले आग्रह गरिन् ।