काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब सरकार गठन पुनर्गठनको प्रक्रिया सुरु हुने बताएका छन् ।
राप्रपाका मन्त्रीहरूले राजीनामा दिइसकेको भन्दै उनले एमाले करिब करिब प्रतिपक्षमा गएको बताए ।
महेन्द्रनारायण निधि स्मृति दिवसको अवसरमा शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले संविधान र संघीय लोकतन्त्र गणतन्त्रलाई स्वीकार गर्न नसक्नेहरूसँग सहकार्यले संशय पैदा गर्ने भन्दै उनले आफूले सरकार गठनको दुई महिनामै तीतो अनुभव गरेको बताए ।
आफू प्रधानमन्त्री भएपछि केही शक्ति हौसिएको भन्दै उनले भने, ‘जुन गठबन्धनमा छु, यो संविधान र राष्ट्रको हितमा छैन ।’
संविधानमाथि प्रहार हुन थाल्दा विगतमा पनि पनि काँग्रेस नेतृत्वमा सहकार्य भएको बताउँदै प्रचण्डले शुक्रबारदेखि नयाँ यात्रा सुरु भएको बताए । उनले अगाडि भने, ‘हिजो खुसी र गर्व महसुस गरेँ ।’
प्रधानमन्त्री त आफूले ८ दलको सहमति भन्दा धेरै उतै (एमालेसँग) पाइसकेको भए पनि त्यसलाई आफूले मुख्य नमानेको उनले बताए । स्थायित्व र विकास कुन राजनीतिक प्रक्रियाबाट हुनसक्छ भन्ने मुख्य भएको भन्दै प्रधानमन्त्री प्रचण्डले त्यसका लागि आफूले पहल लिएको बताए ।
शुक्रबार मात्र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटारमा भएको भेटमा आफूले राष्ट्रिय सहमतिको सूत्रधार बन्ने प्रस्ताव राखेको सुनाए । ‘नेपाली काँग्रेसलाई राष्ट्रपति सहमतिले दिउँ । सबभन्दा ठुलो पार्टीको राष्ट्रपति हुन्छ, तपाईँको सभामुख भएकै छ, राष्ट्रियसभाको अध्यक्ष पनि छन्’, प्रचण्डले भने, ‘हामी दुवै गएर काँग्रेसलाई राष्ट्रपति तपाईँहरू लिनुस् भन्यौँ भने नयाँ राष्ट्रिय सहमति हुन्छ भनेको थिएँ । तर उहाँ मान्नुभएन ।’
यद्यपि ८ दलको बीचमा जे भयो, त्यो राष्ट्रिय सहमति भएको उनको दाबी छ । ‘किनभने हामी त मिल्न जरुरी थियो नै, सबैलाई यो राजनीतिक प्रक्रियामा इङ्गेज गर्न जरुरी छ’, उनले भने ।
‘एमाले पनि अब कतै जान सक्ने छैन । हो उहाँहरू प्रतिपक्षमा जान सक्नुहुन्छ । करिब करिब जानुभयो । आज मात्रै राप्रपाका मन्त्रीहरूले राजीनामा दिनुभयो । अब कानुनी हिसाबले हामी प्रक्रियामा जानुपर्छ । सरकार नयाँ बन्छ, पुनर्गठन हुन्छ आदि इत्यादि । तर एमालेको सभामुख त हुनुहुन्छ, उहाँहरू फुत्किएर जान सक्ने स्थिति त हुँदैन’ उनले भने ।
प्रधानमन्त्री प्रचण्डले ८ दलको तर्फबाट राष्ट्रपतिको उम्मेदवार बनेका रामचन्द्र पौडेलले लोकतन्त्र र राष्ट्रको हितमा कसैसँग सम्झौता नगर्ने विश्वास समेत व्यक्त गरे ।