काठमाडौँ । काठमाडौँमा जारी आइसिसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोणात्मक सिरिजमा नामिबिया लगातार दोस्रो खेलमा पराजित भएको छ।
स्कटल्यान्डले नामिबियामाथि १० विकेटको रवाफिलो जित हासिल गर्दै विश्वकप क्रिकेट लिग-२ को उपाधि नजिक पुग्यो।
टियू मैदान कीर्तिपुरमा टस हारेर पहिलो ब्याटिङ गरेको नामिबिया ३९.२ ओभरमा अलआउट हुँदै १५३ रनमा समेटियो। जवाफमा उक्त लक्ष्य स्कटल्यान्डले २२.१ ओभरमा बिना विकेट गुमाएर पूरा गरेको थियो।
स्कटल्यान्डको जितमा ओपनरहरू क्याली कोएटजर र जर्ज मुन्सीले अविजित इनीङ खेलेका थिए। मुन्सीले ६१ बलमा शतक प्रहार गर्दा क्याली ४६ रन बनाएर अविजित रहे।
जितका लागि १ रन चाहिएको अवस्थामा ९९ रनमा रहेका मुन्सीले ४ रन प्रहार गर्दै १०३ रनको अविजित इनिङ खेल्दै टिमको जित निश्चित गरेका थिए।
त्यसअघि पहिलो ब्याटिङ गरेको नामिबियाका लागि ओपनर लो ह्यान्ड्रे लउरेन्सले सर्वाधिक ५४ रन बनाउँदा बर्नार्ड स्कोल्जले ३० रन बनाएका थिए।
त्यस्तै, जिन ग्रिनले २५ रन बनाउनु थप दोहोरो स्कोरका रूपमा रह्यो। नामिबियालाई सस्तैमा समेट्ने क्रममा स्कटल्यान्डका लागि माइकल लिस्कले ४ विकेट लिँदा सफ्यान सरिफ र मार्क वाटले समान ३-३ विकेट लिएका थिए।