जनार्दन शर्माले ल्याएको बजेटबारे अर्थमन्त्री पौडेलद्वारा समीक्षा « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

जनार्दन शर्माले ल्याएको बजेटबारे अर्थमन्त्री पौडेलद्वारा समीक्षा


२९ माघ २०७९, आइतबार


काठमाडौँ । आइतबार साँझ ५ बजे अर्थमन्त्री विष्णु पौडेलले चालू आर्थिक वर्ष (२०७९/८०) को बजेट समीक्षा सार्वजनिक गर्दै छन् ।

चालू बजेट तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले ल्याएका हुन् । शर्माले ल्याएको ठुलो आकारको बजेटमा अर्थमन्त्री विष्णु पौडेलले कैँची चलाएको अर्थमन्त्रालयल स्रोतले जनाएको छ ।

तत्कालीन अर्थमन्त्री शर्माले १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट ल्याएका थिए । तर, माघ महिना सकिन लाग्दा समेत बजेट खर्च सन्तोषजनक देखिएको छैन ।

विशेष गरी पुँजीगत खर्चको निराशाजनक कार्यान्वयन यो वर्ष पनि दोहोरिएको छ । अर्थ मन्त्रालय स्रोतका अनुसार लक्ष्यअनुसार बजेट खर्च गर्न नसकेको र राजस्व सङ्कलन पनि प्रभावकारी नभएकाले दुवैको लक्ष्य घटाइएको छ ।

कति घटाइएको हो भन्नेबारे ती अधिकारीले खुलाउन चाहेनन् । हालसम्म ६ खर्ब ६३ अर्ब ३५ करोड २० लाख रुपैयाँ बजेट खर्च भएको छ । यो भनेको विनियोजित बजेटको करिब ३७ प्रतिशत हो ।

झण्डै ७ महिनामा ३७ प्रतिशत मात्र बजेट खर्च हुनुलाई विज्ञहरूले सरकारको प्रभावकारी कार्यान्वयनमै प्रश्न उठाएका छन् । यो अवधिमा करिब १७ प्रतिशत मात्र पुँजीगत खर्च भएको छ । चालु आवका लागि ३ खर्ब बढीको पुँजीगत शीर्षकमा बजेट छुट्याइएको थियो ।

यस्तै माघ २८ गतेसम्म राजस्व सङ्कलन पनि लक्ष्यको ३६.४९ प्रतिशत मात्र भएको छ । १४ खर्ब ३ अर्ब बढी राजस्व सङ्कलनको लक्ष्य बजेटले लिएको थियो । तर, हालसम्म ५ खर्ब १२ अर्ब रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस