काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा आज पनि सभामुख पदको लागि निर्वाचन हुने भएको छ ।
माओवादीका भीम भण्डारी र कांग्रेसका मानबहादुर रावल सभामुखको लागि उम्मेदवार छन् ।
यस अघि दुई पटक सम्म भएको निर्वाचनमा कसैले पनि बहुमत पुराउन नसकेपछि आज तेस्रो पटक उनीहरूबीच सभामुखको लागि मतदान हुँदै छ । आज बिहान १० बजे बोलाइएको प्रदेश सभा बैठकले सभामुखको निर्वाचन गर्ने छ ।
२८ गते सत्ता गठबन्धनकै एक सांसदको मत बदर हुँदा माओवादीका भण्डारी सभामुख हुनबाट रोकिएका थिए भने ३० गते नागरिक उन्मुक्तिका ७ सांसदले कतै मत नदिएपछि दोस्रो पटक भण्डारी र रावल दुवैले बहुमत पाउन सकेनन् ।
५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा सभामुख बन्न २७ मत आवश्यक पर्छ । यहाँ सत्ता गठबन्धनमा रहेको माओवादी, एमाले, नागरिक उन्मुक्ति पार्टी र राप्रपा मिल्दा २९ मत हुन्छ ।
अघिल्लो पटक तटस्थ बसेको नागरिक उन्मुक्ति पार्टी आज भने खुल्ने जनाइएको छ।