काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विमानस्थल बनाउन लिएको ऋणलाई अनुदानमा परिणत गर्न चीन सरकारसँग आग्रह गरेका छन् ।
आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन समारोहमा सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् । यस विमानस्थलमा चिनियाँ एक्जिम बैङ्कले ७५ प्रतिशत ऋण लगानी गरेको छ भने २५ प्रतिशत चीन सरकारले अनुदान दिएको छ ।
कार्यक्रममा मुख्यमन्त्री पोखरेलले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने ४७ वर्ष पहिलेको सपना पुरा भएको बताए । उनले विमानस्थल बनेर मात्रै नहुने भन्दै विमानस्थलबाट अरब, भारत, मलेसिया लगायतका मुलुकमा जान पाउनुपर्ने र जनताले त्यही चाहेको सुनाए ।
गण्डकी प्रदेशले पहिलो पटक कार्यकारी प्रमुख (प्रधानमन्त्री) पाएको भन्दै गण्डकी प्रदेशले वर्तमान प्रधानमन्त्रीबाट धेरै अपेक्षा गरेको बताए ।
उनले पोखरा विमानस्थललाई दक्षिण एसिया, दक्षिण एसिया र पश्चिम एसियासँग जोड्न सक्ने हो भने पोखरालाई पर्यटनको राजधानी बनाउन सकिने बताए ।
पर्यटन विकासका लागि पर्यटकले नेपालमा बस्ने समय र खर्च गर्न वातावरण बनाउनुपर्ने उनले बताए ।







