बाजुरा घटना : सहसचिव नेतृत्वको छानबिन समिति घटनास्थलमा « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

बाजुरा घटना : सहसचिव नेतृत्वको छानबिन समिति घटनास्थलमा


१२ मंसिर २०७९, सोमबार


काठमाडौँ । बाजुरामा निर्वाचनको दिन दुई जनाको मृत्यु भएको घटना छानबिन गर्न गृह मन्त्रालयले सहसचिव प्रेमप्रसाद भट्टराइको नेतृत्वमा छानबिन समिति गठन गरेको छ । 

भट्टराई नेतृत्वको समितिले बाजुरामा पुगेर घटनाबारे अनुसन्धान थालेको गृह मन्त्रालयका एकजना उच्च अधिकारीले बताए । समितिमा नेपाल प्रहरीका डिआइजी भीम ढकाल, सशस्त्रका डिआइजी अभि खत्री, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक भीम बुढाथोकी र महान्यायाधिवक्ता कार्यालयका उपन्यायाधिवक्ता सन्तोष कटुवाल सदस्य छन् ।

बाजुराको त्रिवेणी नगरपालिका˗७ मा स्थित नाटेश्वरी मतदान केन्द्रमा झडप हुँदा प्रहरीले चलाएको गोली लागेर २६ वर्षीय सन्दीप ऐडीको घटनास्थलमा मृत्यु भएको थियो । निर्वाचन सकेर घर फर्कँदै गरेका नेपाल कम्युनिष्ट पार्टी (एमाले) को भातृसंगठन अनेरास्ववियुका सचिवालय सदस्य चेतन ऐडीको कुटपिटबाट मृत्यु भएको छ ।

कुटेर हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरी प्रवक्ता (एसएसपी) दानबहादुर कार्कीका अनुसार पक्राउ पर्नेमा त्रिवेणी नगरपालिका˗७ घर भएका २७ वर्षीय रुपा चौधरी ऐडी र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर छन् ।

त्रिवेणी नगरपालिका-७ मालाकोटका ३२ वर्षीय चेतनमाथि सामूहिक रूपमा बाजपानी र घरमा कुटपिट भएको थियो । कुटपिट हुँदा गम्भीर घाइते भएका ऐडीको अछाम बयलपाटास्थित न्याय हेल्थ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

चेतनका परिवारले सोमबार शव जिम्मा लिएको एसएसपी कार्कीले जानकारी दिए । 

प्रधानमन्त्री शेरबहादुर देउवाले आइजिपी धिरजप्रताप सिंह र सशस्त्र प्रहरी प्रमुख राजु अर्याललाई बोलाएर सो हत्यामा संलग्नलाई कानुनी दायरामा ल्याउन निर्देशन दिएका छन् । चेतनको हत्या आरोपमा जिल्ला प्रहरी कार्यालय बाजुरामा २२ जना विरुद्ध किटानी जाहेरी दर्ता गरिएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस