काठमाडौँ । मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट ३५ प्रतिशत सांसदको ‘डेब्यु’ पक्का भएको छ । प्रत्यक्षतर्फको १५९ क्षेत्रको नतिजा आउँदा ५८ जनाले पहिलो पटक संघीय संसद्को यात्रा तय गरेका हुन् ।
नेपाली काँग्रेसबाट १६, नेकपा एमालेबाट १७, नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीबाट ७ र नागरिक उन्मुक्ति पार्टीबाट ३ जनाको पहिलो पटक संसदमा ‘इन्ट्री’ हुँदैछ ।
यस्तै माओवादी र राप्रपाबाट ४-४ जना नयाँ अनुहारले संसदमा स्थान सुरक्षित गरेका छन् भने जसपाका ३, लोसपा र जनमत पार्टीबाट १-१ जना पहिलो पटक संसदमा पुग्ने भएका छन् । यस्तै ३ जना स्वतन्त्र उम्मेदवारका लागि पनि पहिलो पटक संसद्को ढोका खुलेको छ । १६५ मध्ये ६ निर्वाचन क्षेत्रमा मतदान तथा मतगणनाको प्रक्रिया बाँकी नै छ । सुनसरी-२, ४ र उदयपुर-१, स्याङ्जा-२, बाजुरा र दोलखाको परिणाम आएको छैन ।
सुनसरी-२, ४ र उदयपुर-१, स्याङ्जा-२, बाजुरामा सत्ता गठबन्धन र एमालेका उम्मेदवार पुरानै अनुहार छन् । ती क्षेत्रमा अन्य पार्टी तथा स्वतन्त्र उम्मेदवारको प्रभाव कम देखिएकाले नयाँ अनुहार आउने सम्भावना छैन ।
दोलखामा भने सत्ता गठबन्धनबाट माओवादी गङ्गा कार्की र एमालेका बालकृष्ण अधिकारी दुवै नयाँ अनुहार हुन् । उनीहरूमध्ये एक जना निर्वाचित हुने सम्भावना बढी देखिएकाले संसदमा थप एक जना नयाँ अनुहार आउने पक्का छ ।
काँग्रेसबाट विश्वप्रकाश शर्मा, सुनिलकुमार शर्मा, दिनेशकुमार यादव, सन्तोष चालिसे, प्रदीप पौडेल, दुर्लभ थापा क्षेत्री, पूर्णबहादुर तामाङ, श्यामकुमार घिमिरे, राजेन्द्र बजगाईँ, विष्णुकुमार कार्की, योगेश गौचन थकाली, खमबहादुर गर्बुजा, दिक्पालकुमार शाही, ऐनबहादुर शाही ठकुरी, पुष्पबहादुर शाह र डिल्लीराज पन्तले डेव्यु गरेका छन् ।
यस्तै एमालेबाट १७ नयाँ अनुहारले डेव्यु गरेका छन् । महेश बस्नेत, अम्मरबहादुर रायमाझी, मानवीर राई, अच्युतप्रसाद मैनाली, लक्ष्मी महतो कोइरी, रामशंकर यादव, महेशकुमार बर्तौला, प्रेमबहादुर महर्जन, मनबहादुर गुरुङ, दामोदर पौडेल वैरागी, मङ्गलप्रसाद गुप्ता, नारायणप्रसाद आचार्य, ठाकुरप्रसाद गैरे, सूर्यबहादुर थापा क्षेत्री, सूर्यप्रसाद ढकाल, वासुदेव घिमिरे र तारा लामा तामाङ रहेका छन् ।
माओवादीबाट माधव सापकोटा, लेखनाथ दाहाल, पूर्णबहादुर घर्ती मगर र छिरिङ डम्डुल लामा (भोटे)ले डेव्यु गरेका छन् ।
यस्तै जसपाबाट दीपक कार्की, नवलकिशोर साह सुडीले डेव्यु गरेका छन् भने राप्रपाबाट ४ जना नयाँ अनुहार दीपकबहादुर सिंह, ध्रुवबहादुर प्रधान, धवलशमशेर जबरा, ज्ञानबहादुर शाही छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट सभापति रबी लामिछाने नेतृत्वसहित सोबिता गौतम, शिशिर खनाल, गणेश पराजुली, विराजभक्त श्रेष्ठ, तोसिमा कार्की र हरि ढकालले डेव्यु गरेका छन् ।
नागरिक उन्मुक्ति पार्टीबाट पनि ३ नयाँ अनुहार संसदमा देखिने छन् । ३ नयाँ अनुहार रन्जिता श्रेष्ठ, अरुणकुमार चौधरी र गंगाराम चौधरी छन् भने लोसपाबाट रामप्रकाश चौधरी छन् ।
जनमत पार्टीबाट चन्द्रकान्त (सीके) राउत र तीन स्वतन्त्र नयाँ योगेन्द्र मण्डल (जोगी), किरणकुमार साह, लालवीर चौधरी रहेका छन् ।