वर्षाबाट भएको क्षतिबारे प्रतिवेदन प्रस्तुत गर्न गृहमन्त्रीको निर्देशन « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

वर्षाबाट भएको क्षतिबारे प्रतिवेदन प्रस्तुत गर्न गृहमन्त्रीको निर्देशन


२६ आश्विन २०७९, बुधबार


काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले अविरल वर्षाबाट भएको क्षतिबारे तथ्य सङ्कलन गरी तत्काल प्रस्तुत गर्न निर्देशन दिएका छन् । 

बुधवार सिंहदरबारमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणीन्द्रमणि पोखरेलले गृहमन्त्री खाँणले कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका बाँके, बर्दिया र दाङ लगायतका जिल्लामा पछिल्लो समय आएको अविरल वर्षाका कारण पुगेको जनधनको क्षतिबारे अध्ययन गरी तत्काल रिपोर्ट प्रस्तुत गर्न निर्देशन दिएको जानकारी दिएका हुन् । 

उनका अनुसार गृहमन्त्री खाँणले बिहीबार नै घटनास्थलको निरीक्षण गरी प्रतिवेदन प्रस्तुत गर्न र आवश्यक राहत उपलब्ध गराउन निर्देशन दिए । प्रवक्ता पोखरेलले अपुग ठाउँमा राहत लैजान पनि निर्देशन दिएको बताए । 

प्रवक्ता पोखरेलले आसन्न निर्वाचनमा पनि आउन सक्ने विपद्को सम्भाव्यता अध्ययन गर्न र त्यसको लागि उचित व्यवस्थापन मिलाउन निर्वाचन आयोगसँग समन्वय गर्ने बारेमा छलफल भएको बताए । उनले आगामी निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित बनाउने बारेमा सबै सुरक्षा निकायसँग छलफल गरेको बताए । 

प्रवक्ता पोखरेलले निर्वाचनका लागि हरेक जिल्लामा विशेष सुरक्षा योजना बनाएर पठाएको र त्यसै अन्तर्गत सुरक्षा योजना तयार गर्न निर्देशन भएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस