काठमाडौँ । वैदेशिक रोजगार विभागले श्रम गन्तव्य मुलुकमा कामदार पठाउने प्रयोजनार्थ परेका उजुरीमाथि गरेको पत्राचारलाई अवज्ञा नगर्न चेतावनी दिएको छ ।
वैदेशिक रोजगारीमा पठाउने इजाजत प्राप्त संस्थाको विरुद्धमा परेको उजुरीमा विभागले गरेको पत्राचारलाई संस्थाले अवज्ञा गरेको भन्दै कारबाही गर्ने चेतावनी दिएको हो ।
संस्थाको विरुद्धमा परेको उजुरीमा तोकिएको प्रमाणसहितको जवाफ तोकिएको समयभित्र पेस नहुँदा उजुरी फर्छ्यौटमा बाधा पुगेको विभागले जनाएको छ ।
आफ्नो संस्था विरुद्ध परेका उजुरी फर्छ्यौटमा व्यवसायीक कर्तव्य पुरा गरी वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने कार्यमा सहयोग गर्न अनुरोध गरेको विभागले अन्यथा वैदेशिक रोजगार ऐन, २०६४ को दफा ५४ बमोजिम कारबाही हुनेसमेत भनेको छ ।