काठमाडौँ । कास्कीको मादी गाउँपालिकाको थाक खानेपानी आयोजनाको पाइप चोरी गरेको आरोपमा एक जनप्रतिनिधिसहित ४ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ पर्नेमा मादी गाउँपालिका-१ का वडासदस्य ३४ वर्षीय खरजंग गुरुङ पनि छन् ।
उनीहरूलाई वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले असोज ५ गते मध्यरातमा पक्राउ गरेको कास्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले जानकारी दिए । चोरी गरिएको पाइप करिब १४ लाख रुपैयाँ बराबर भएको अनुमान छ ।
मादी गाउँपालिकाका निवर्तमान अध्यक्ष वेदबहादुर गुरुङका अनुसार यसअघि पनि उक्त आयोजनाबाट पाइप चोरी हुँदै आएको थियो ।
मादीका निवर्तमान गाउँपालिका अध्यक्ष गुरुङका अनुसार कास्कीका साबिक पूर्वी ३ वटा गाविसमा खानेपानी सुविधा पुर्याउन २०४७र०४८ सालमा आयोजना सुरु गरिएको थियो ।
हाल उक्त खानेपानी आयोजनाबाट मादी गाउँपालिका र रुपा गाउँपालिकाका बासिन्दाले खानेपानी सुविधा लिएका छन् । तर, जनसङ्ख्या वृद्धि हुँदै गएपछि खानेपानी पाइपले माग धान्न नसकेपछि पुनर्निर्माण थालिएको हो ।