काठमाडौँ महानगरपालिकामा खाद्य स्वच्छता कायम गर्ने अभियान सुरु « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

काठमाडौँ महानगरपालिकामा खाद्य स्वच्छता कायम गर्ने अभियान सुरु


२७ भाद्र २०७९, सोमबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकामा खाद्य स्वच्छता कायम गर्ने अभियानको कार्यान्वयन सुरु गरिएको छ । काठमाडौँ महानगरपालिकाका नगर कार्यपालिकाको बैठकले चारदेखि पाँचजना खाद्य निरीक्षक राख्ने निर्णय गरेसँगै महानगरमा खाद्य स्वच्छता कायम गर्न पहल थालिएको वडा नम्बर ३० का वडाध्यक्ष दलबहादुर कार्कीले बताए ।

काठमाडौँ महानगरपालिकाको १२ भदौमा बसेको नगर कार्यपालिकामा मेयर बालेन्द्र साहले चारदेखि पाँचजना खाद्य निरीक्षक (फुड इन्सपेक्टर) राख्ने प्रस्ताव राखेका थिए । फुड इन्सपेक्टर राख्नु पूर्व खाद्य परिकार बनाउने र बेच्ने व्यवसायीहरूलाई खाद्य स्वच्छता कायम गर्नलाई आवश्यक प्रशिक्षित गर्नुपर्ने खाँचो महसुस गरेर सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र वार्ड नम्बर ३० को अगुवाइमा यससम्बन्धी तालिम दिइएको छ ।

मण्डिखाटारस्थित गेट कलेजको समन्वयमा वडा नम्बर ३० का होटेल व्यवसायी, रेस्टुराँ व्यवसायी, विद्यालयहरूका चमेना घर, खाजा घर, ठेला पसले मालिक तथा कर्मचारी गरी ५४ जनालाई पहिलो चरणमा खाद्य सुरक्षासम्बन्धी तालिम दिइएको हो ।

सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रकी प्रमुख डा।आरती शाह नेतृत्व तथा गेट कलेजका प्रमुख कार्यकारी अधिकृत खेम लकाइँको समन्वयमा आयोजित कार्यक्रममा खाद्य स्वास्थ्य फुड हाइजिन, स्वास्थ्य मापदण्ड, फोहोर व्यवस्थापनलगायतका शीर्षकमा तालिम दिइएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस