रसुवामा विपद् व्यवस्थापनको पूर्व तयारी « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

रसुवामा विपद् व्यवस्थापनको पूर्व तयारी


२ असार २०७९, बिहिबार


रसुवा । वर्षायामको बाढी पहिराेले पुर्‍याउन सक्ने असरप्रति पूर्व सावधानी अपनाउँदै हिमाली जिल्ला रसुवामा खोज तथा उद्धारको तयारी गरिएको छ ।

वर्षायाम सुरु भइसकेको र भारी वर्षासँगै ठाडो खोल्छाबाट बेजोडले झर्ने भल एवं नदीमा एक्कासि आउने बाढीको जोखिमले हुनसक्ने जनधनको क्षतिलाई न्यूनीकरण गराउन, खोज एवं उद्धार कार्य प्रभावकारी बनाउन सुरक्षा निकायले आफ्ना अधिकृत एवं जवानलाई अभ्यास गराई पूर्व तयारीका साथ राखेको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी नवराज जैसीका अनुसार विपद् व्यवस्थापन समिति तथा सुरक्षा अङ्गमा केही उद्धार सामग्री मौज्दात रहेको, खोज उद्धारका लागि दक्ष जनशक्ति तयार भइसकेका कारण पर्न सक्ने विपद् प्रतिकार्यमा विगतभन्दा यस वर्ष केही सहज हुनेछ ।

वर्षायाममा हुनसक्ने विपत्तिलाई ध्यानमा राख्दै छिटोभन्दा छिटो खोज उद्धार गरी ज्यु ज्यानको रक्षा गर्न नेपाली सेना विष्णुदल गणको संयोजनमा उक्त गणका अधिकृत तथा जवान एवं सशस्त्र प्रहरी बल २० नम्बर गुल्म तथा रसुवा प्रहरीका गरी ५५ सुरक्षाकर्मीलाई तालिम उपलब्ध गराइएको छ ।

विष्णुदल गणद्वारा गोसाईंकुण्ड गाउँपालिका–६ नागुङ गाउँ नजिक पहिरो स्थलमा गरिएको खोज उद्धारको नमुना अभ्यासले स्थानीय बासिन्दालाई समेत सो कार्यमा सहयोगी भूमिका निर्वाह गर्न गराउन मद्दत पुगेको रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताए ।

रसुवामा तैनाथ नेपाली सेनाका गणहरूले विगतदेखि बाढी पहिरोको अलावा पवित्र तीर्थ गोसाईंकुण्ड जाँदा लेक लागेर गम्भीर अवस्थामा पुगेका यात्रुलाई समेत छिटो उद्धार गरी पुनः जीवन दिलाउने कार्यमा योगदान पुर्‍याउँदै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस