काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ । बिहान ११ बजे बैठक बस्ने संसद सचिवालयले जनाएको छ ।
बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आइतबार पेस गरेको आर्थिक वर्ष २०७९-०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ ।
मंगलबारबाट बजेटमाथिको सैद्धान्तिक छलफल सुरु भएको थियो । उक्त छलफलमा सांसदहरूले बजेटमाथि आ-आफ्नो धारणा राखेका थिए ।
यसैबिच, आज एमाले सांसद तथा एमाले संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले इन्धन तथा खाद्यान्नमा भएको मूल्यवृद्धिलगायत जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
यसैबिच, राष्ट्रिय सभाको बैठक पनि आज बस्ने भएको छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।