सरकारले सिन्धुपाल्चोकलाई सङ्कटग्रस्त क्षेत्र घोषणा बाहेक अरु केही गर्न सकेन : अध्यक्ष दाहाल « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सरकारले सिन्धुपाल्चोकलाई सङ्कटग्रस्त क्षेत्र घोषणा बाहेक अरु केही गर्न सकेन : अध्यक्ष दाहाल


२४ श्रावण २०७८, आइतबार


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सरकारले सिन्धुपाल्चोकको मेलम्ची र त्यस वरपरका बाढी पीडितलाई राहत दिने काममा तीव्रता दिन नसकेकोमा असन्तुष्टि व्यक्त गरेका छन्।

अध्यक्ष दाहालले आइतबार बिहान आफ्नै निवास खुमलटार पुगेका बाढी पीडितहरुसँगको भेटमा सरकारले सिन्धुपाल्चोक जिल्लालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरे पनि घोषणा अनुसार कामलाई तीव्रता दिन नसकेको भन्दै असन्तुष्टि जनाएका हुन्।

सरकारले सिन्धुपाल्चोक र मनाङ जिल्लालाई विपद् सङ्कटग्रस्त जिल्ला त घोषणा गर्‍यो तर त्यो घोषणालाई फलोअप गर्ने खालका क्रियाकलापहरु त्यहीँ अनुसार तीव्रताका साथ अगाडी नबढेको उनले उल्लेख गरेका छन्।

अध्यक्ष दाहालले सो क्षेत्रका बाढी पीडितलाई राहत दिलाउन आफ्नो पार्टीले सरकारलाई घचघच्याउने र उत्प्रेरित गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । उनले आफ्नो पार्टीको तर्फबाट पनि सो क्षेत्रका बाढी पीडितलाई सकेको सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे।

अध्यक्ष दाहालले नेपालमा प्राकृतिक प्रकोप बढ्दै जानुमा जलवायु परिवर्तनलगायतले पनि भूमिका खेलेको हुन सक्ने दाबी गर्दै त्यसलाई न्यूनीकरण गर्ने दिशामा सरकारले संयुक्त राष्ट्र सङ्घलगायतका सम्बन्धित निकायमा पनि छलफल गर्नुपर्ने अवस्था आएको बताए । त्यसका लागि आफूले सरकारसँग कुरा गर्ने उनको भनाई थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस