सङ्क्रमितले भरिए झापाका अस्पताल « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सङ्क्रमितले भरिए झापाका अस्पताल


२० श्रावण २०७८, बुधबार


झापा । विज्ञहरुले कोरोनाको तेस्रो लहर छिट्टै आउने चेतावनी दिइरहेका बेला झापाका कोभिड अस्पतालहरु सङ्क्रमितले भरिभराउ भएका छन् ।

मेची प्रादेशिक अस्पताल भद्रपुरमा ७५ शय्याको कोभिड उपचार केन्द्र रहेकामा ६० जना सङ्क्रमितको उपचार भइरहेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा टङ्क बाराकोटीले बताए ।

अस्पतालको ६० वटा शय्यामा मात्र अक्सिजनको सुविधा उपलब्ध छ । ती सबै शय्या भरिएका छन् । अक्सिजन ‘सपोर्ट’ चाहिने नयाँ बिरामीलाई अन्य अस्पतालमा पठाउन थालिएको छ । पाँच वटा आइसियु कक्षमध्ये तीन वटा कोभिडका बिरामीको उपचारका लागि छुट्याइएकामा सबै शय्या भरिएको उनले जानकारी दिए । झापामा सबैभन्दा बढी १०० शय्या कोभिड सङ्क्रमितको उपचारका लागि छुट्याएको विर्तामोडको बीएन्डसी अस्पतालमा ७४ जना बिरामीको उपचार भइरहेको छ ।

अस्पतालका जनसम्पर्क अधिकृत प्रमिस गिरीका अनुसार कोभिडका लागि अस्पतालले ३२ शय्याको आइसियु व्यवस्था गरेकामा सबै शय्या बिरामीले भरिएका छन् । ‘एक सातायता कोभिडका बिरामीको चाप ह्वात्तै बढेको छ,’ गिरीले भने, ‘बिरामीको चाप बढ्दै गयो भने अरू शय्या थप्न तयार छौँ । बिरामीले उपचार नपाई फर्किने अवस्था सिर्जना हुन दिँदैनौँ ।’ अस्पतालमा दैनिक २०० सिलिन्डर अक्सिजन खपत भइरहेको जनाउँदै उनले ५० सिलिन्डर अक्सिजन अस्पताल आफैँले दैनिक उत्पादन गरिरहेको बताए ।

पछिल्लो समय बालबालिकामा कोभिडको सङ्क्रमण जोखिम बढेको विज्ञहरुले बताएका कारण अस्पतालले २५ शय्याको एनआइसीयु र १५ शय्याको पीआइसीयु बच्चाहरुको कोभिड उपचारका लागि व्यवस्था गरिएको गिरीले जानकारी दिए ।

विर्तामोडस्थित पूर्णटुङ्ग बिर्तासिटी अस्पतालमा कोभिडका लागि छुट्याइएको सबै आइसोलेसन वार्ड, आइसियु र भेन्टिलेटर भरिएको छ । अस्पतालका प्रशासन प्रमुख विनोद बस्नेतले कोभिड उपचारका लागि ५३ शय्याको आइसोलेसन, नौ शय्याको भेन्टिलेटर र १२ शय्याको आइसियु व्यवस्था गरिएको बताए । ‘उपलब्ध सबै शय्या, आइसियु र भेन्टिलेटर सङ्क्रमितले भरिइसकेका छन्’, बिर्तासिटीका प्रशासन प्रमुख बस्नेतले भने, ‘अब आउने नयाँ बिरामीलाई पाल टाँगेर अस्पताल परिसरमा उपचार गर्नुपर्ने अवस्था आइसकेको छ ।’

एक सातायता कोभिडका सङ्क्रमित उपचारका लागि आउने क्रम बढेर अस्पताल नै भरिएको उनले बताए । अस्पतालले सङ्क्रमितको उपचारलाई प्राथमिकतामा राखेर ओपीडी सेवा हाल बन्द गरेको जनाएको छ । यस्तै चाप रहे प्रसूति सेवा पनि बन्द गर्ने अवस्था आउन सक्ने उनले बताए ।

एक साता अघिसम्म २४ घण्टामा १०० अक्सिजन सिलिन्डरले पुग्ने गरेकामा हाल दैनिक १०० सिलिन्डर खपत भइरहेको बस्नेतले जानकारी दिए । ‘एम्बुलेन्स र सिटीसफारीहरुले बिरामी ओसारेका ओसारै छन्’, उनले भने, ‘ओपीडी बन्द गरेर विशेषज्ञ चिकित्सकहरुलाई नै कोभिडका बिरामीको उपचारमा परिचालन गरेका छौँ ।’

दमकको बेलडाँगी कोभिड अस्पताल पनि सङ्क्रमितले भरिभराउ छ । दमक नगरपालिकाले सञ्चालन गरेको सो अस्पतालमा ३० शय्या छन् । सबै शय्या भरिभराउ रहेको स्रोत व्यक्ति देवी दङ्गालले बताए । चिकित्सकहरुका अनुसार अचेल सिकिस्त भएपछि मात्र सङ्क्रमितहरु अस्पताल आउन थालेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस