जाजरकोट । कुशे गाउँपालिका–५ बाटुलेकी २७ वर्षीया पशुपति पुनको सुत्केरी भएको ६ घण्टापछि मृत्यु भएको छ ।
सोमबार बिहान छोरा जन्माएकी उनको सालनाल खस्न ढिलो हुँदा ज्यान गएको हो । बिहान ४ बजे सुत्केरी भएकी उनलाई ढिलो गरी स्थानीय मेडिकलमा ल्याएर सालनाल निकालिएको थियो । सालनाल निकालेलगत्तै बेहोस भएपछि उनको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक किशोरकुमार श्रेष्ठले बताए ।
पुनले यसअघि दुई छोरीलाई जन्म दिएको प्रहरीले बताएको छ । शारीरिक अवस्था कमजोर र शरीरमा रगतको कमी भएका कारण उनको मृत्यु भएको श्रीमान् अमृत पुनले बताए। उनका अनुसार नवजात शिशुको अवस्था भने सामान्य छ ।