काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका नेताहरुले शनिबारदेखि हुन लागेको चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणलाई नेपाली जनता आतुरताका साथ पर्खिरहेको बताएका छन् । आज यहाँ आयोजित साक्षात्कारमा उनीहरुले २३ वर्षपछि चिनियाँ नेताको उच्चस्तरीय राजकीय भ्रमणको स्वागतका लागि तत्पर रहेको बताए ।
नेपाली कांग्रेसकी नेत्री एवं पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइरालाले चिनियाँ नेता सी चिनफिङबाट नेपाल भ्रमण हुने खबरले कांग्रेस हर्षित भएको बताउँदै नेपाली कांग्रेसले उनको भ्रमणलाई महत्वका साथ हेरेको बताइन् । कोइरालाले भनिन्, ‘नेपाली कांग्रेसले एक चीन नीतिलाई सदा समर्थन गर्दै आएको छ ।’
नेकपाका नेता एवं पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले नेकपा नेतृत्वको वर्तमान सरकारले चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणलाई उत्साहका साथ स्वागत गर्ने बताए । लगानीको दृष्टिले विश्वमा एक नम्बर तथा अर्थतन्त्रको हिसाबले दोस्रो नम्बरमा रहेको चीनसँग शनिबारदेखि हुने चिनियाँ नेतासँगको भ्रमणका क्रममा सरकारले चीन वा भारत कतैतर्फ पनि नढल्किकन कुरा गर्ने बताए । उनले पारस्परिक हित तथा सहयोगको आधारमा मित्र मुलुक चीनसँग केरुङ–काठमाडौँ रेलमार्गको विषयमा पनि छलफल केन्द्रित हुने बताए ।
नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री रोमी गौचनले सम्पूर्ण नेपालीले २३ वर्षपछि चिनियाँ नेताको स्वागत गर्न पाउनु ऐतिहासिक तथा दूरगामी महत्वको भएको बताइन् । चिनियाँ नेताको उच्चतहको भ्रमणलाई नेपालले शान्ति, असंलग्नता, पञ्चशील सिद्धान्तको आधारमा कुरा गर्नुपर्नेमा उनको जोड थियो ।