काठमाडौँ । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सार्वजनिक जिम्मेवारीमा रहेका व्यक्ति वा निकायले नागरिकप्रति उदासीनता देखाए कानुनअनुसार कडा कारबाहीको दायरामा ल्याइने बताएका छन्।
तनहुँको शुक्लागण्डकी नगरपालिका-५, दुलेगौँडामा आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्तासँग भएको भेटघाटका क्रममा मन्त्री लम्सालले जनताको हित विपरीत काम गर्ने वा सेवा प्रवाहमा ढिलासुस्ती गर्ने कुनै पनि पदाधिकारीलाई छुट नदिइने स्पष्ट पारेका हुन्।
उनले सार्वजनिक पद धारण गरेका व्यक्तिले जिम्मेवारीप्रति इमानदार र जवाफदेही हुनुपर्नेमा जोड दिँदै, जनताको काममा बेवास्ता गर्ने वा कर्तव्य पूरा नगर्ने गतिविधिबारे सूचना उपलब्ध गराउन नागरिकलाई आग्रह गरे। यस्ता जानकारी प्राप्त भएमा सम्बन्धित निकायमार्फत आवश्यक कानुनी प्रक्रिया अघि बढाइने उनको भनाइ थियो।
मन्त्री लम्सालले संघीय सरकार मात्र होइन, प्रदेश तहका पदाधिकारीहरू समेत यही कानुनी तथा आचारसंहिताको दायरामा पर्ने उल्लेख गर्दै जनअपेक्षाविपरीत कार्य गर्ने जो-कोहीलाई उन्मुक्ति नदिइने चेतावनी दिए।
उनले वर्तमान सरकारको प्राथमिकता भाषण वा आश्वासन नभई परिणाममुखी कार्यसम्पादन रहेको दाबी गर्दै सुशासन र प्रभावकारी सेवा प्रवाहलाई मुख्य लक्ष्य बनाइएको स्पष्ट पारे।
कार्यक्रममा उनले राज्य संयन्त्रलाई स्वच्छ, उत्तरदायी र जनमुखी बनाउन नागरिक समाज तथा पार्टी कार्यकर्ताको रचनात्मक सहयोग तथा सूचनाको भूमिका महत्वपूर्ण रहने पनि उल्लेख गरे।







