काठमाडौँ । नेपाल-चीनबीचको प्रमुख व्यापारिक तथा आवागमन मार्ग रसुवागढी सीमा नाका दुई दिनका लागि बन्द गरिएको छ।
जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार नेपाल-चीन जोड्ने मितेरी पुल (बेलिब्रिज) को प्राविधिक परीक्षण तथा मर्मतसम्भार कार्यका लागि चिनियाँ पक्षले १५ र १६ असारमा नाका सञ्चालन स्थगित गरेको हो।
यस अवधिमा बेलिब्रिजमार्फत हुने सवारीसाधनको आवागमन पूर्ण रूपमा रोकिएको प्रशासन कार्यालयले जनाएको छ।
यद्यपि कैलाश मानसरोवर तीर्थयात्रामा रहेका यात्रुहरूको आवागमन भने प्रभावित नहुने गरी आवश्यक सहजीकरण गरिएको छ। कार्यालयका अनुसार नेपाल र चीनका सुरक्षा निकायबीचको समन्वयमा तीर्थयात्रीलाई १०-१० जनाको समूहमा सीमा पार गराउने व्यवस्था मिलाइएको छ।







