काठमाडौँ । २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट तत्कालीन नेकपा (माओवादी केन्द्र) का तर्फबाट उम्मेदवार बनेका डा. भोजराज अधिकारीले सक्रिय राजनीतिक संलग्नता अन्त्य गर्ने घोषणा गरेका छन्।
उनले आफू आबद्ध रहेको नेपाली कम्युनिस्ट पार्टीबाट अलग हुने निर्णय सार्वजनिक गर्दै अब राजनीतिक गतिविधिमा सक्रिय नहुने जानकारी दिएका हुन्। अधिकारीले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको वक्तव्यमा राजनीतिक पद तथा जिम्मेवारीबाट निष्क्रिय हुने स्पष्ट संकेत गरेका छन्।
उनका अनुसार अबको प्राथमिकता पेशागत दक्षता र अनुभवलाई समाजसेवामा केन्द्रित गर्ने हुनेछ। उनले आफूले अघिसम्म निर्वाह गर्दै आएका राजनीतिक भूमिकाबाट अलग भए पनि समाजप्रतिको योगदान भने निरन्तर रहने बताएका छन्।
अधिकारीले आफ्नो राजनीतिक यात्रामा प्राप्त अनुभव, वैचारिक प्रशिक्षण र संलग्नतालाई सम्मानपूर्वक स्मरण गर्दै त्यस चरणबाट धेरै सिकाइ प्राप्त भएको उल्लेख गरेका छन्। उनले विगतको राजनीतिक अभ्यासलाई सकारात्मक रूपमा लिँदै त्यसप्रति सम्मान व्यक्त गरेका छन्।
उनले वर्तमान समय वैचारिक प्रतिस्पर्धाभन्दा विकास र परिणाममुखी कार्यदिशातर्फ उन्मुख भएको उल्लेख गर्दै त्यसै सन्दर्भमा आफूले सक्रिय राजनीतिबाट अलग हुने निर्णय लिएको स्पष्ट पारेका छन्।
राजनीतिक संलग्नता अन्त्य गरे पनि पेशागत जीवनसँगै समाजसेवाका विविध क्षेत्रमा योगदान जारी रहने उनको भनाइ छ।







