काठमाडौँ । विपक्षी दलहरूले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को उपस्थितिको माग गर्दै प्रतिनिधि सभा अवरोध गरेपछि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय नियमावलीको प्रावधान स्मरण गराएको छ।
बैठकमा रास्वपाका तर्फबाट धारणा राख्दै सांसद अशोक चौधरीले प्रतिनिधि सभा नियमावलीको दफा ५० अनुसार सभामुखलाई प्रश्न स्वीकार वा अस्वीकार गर्ने अधिकार रहेको उल्लेख गरे।
उनका अनुसार सभामुखले प्रश्नको प्रकृति, संवैधानिक सीमा, तथा सदनको मर्यादामा पर्ने प्रभावलाई मूल्यांकन गरी आवश्यक परेमा आंशिक वा पूर्ण रूपमा प्रश्न अस्वीकार गर्न सक्ने व्यवस्था नियमावलीमा स्पष्ट छ।
चौधरीले विपक्षी सांसदहरूलाई आजको कार्यसूची तथा सम्बन्धित कानुनी व्यवस्था ध्यानपूर्वक अध्ययन गर्न आग्रह गरे। उनले प्रधानमन्त्रीले विधेयकसम्बन्धी जिम्मेवारी कानून, न्याय तथा संसदीय मामिला मन्त्रीलाई तोकेर प्रक्रिया अघि बढाइसकेको दाबी पनि गरे।
उनका अनुसार सभामुखको अधिकार क्षेत्रभित्रै प्रश्नको स्वीकार्यता सम्बन्धी निर्णय पर्ने भएकाले नियमावलीको दफा ५० (४) समेत बुझ्न आवश्यक रहेको बताएका छन्।







