काठमाडौँ । सर्वोच्च अदालतको इजलासमा सुनुवाइका क्रममा अवाञ्छित गतिविधि गरेको आरोपमा रोशनी वादीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
काठमाडौँ प्रहरीका अनुसार उनलाई हाल सिंहदरबार प्रहरी वृत्तमा राखिएको छ। प्रहरी प्रवक्ता पवन भट्टराईले अदालतमा विचाराधीन मुद्दाको सुनुवाइ चलिरहेका बेला इजलासभित्र हुलहुज्जतजन्य गतिविधि भएपछि नियन्त्रणमा लिनुपरेको जानकारी दिए।
रोशनी वादी पछिल्लो समय प्रदर्शनरत चलचित्र लाल बजार विरुद्ध आन्दोलनरत छिन्। उक्त चलचित्रले वादी समुदायका महिलाको छविमा नकारात्मक असर पुर्याएको दाबी गर्दै उनले प्रदर्शन रोक्न माग गर्दै आएकी छन्।
सोही विषयमा दायर गरिएको रिटमाथिको सुनुवाइका लागि उनी बुधबार अदालत पुगेकी थिइन्। सुनुवाइको क्रममा अवरोध सिर्जना भएपछि सुरक्षाकर्मीले उनलाई नियन्त्रणमा लिएको जनाइएको छ।
यसअघि पनि उनी विभिन्न विरोध कार्यक्रममार्फत सार्वजनिक रूपमा सक्रिय रहँदै आएकी थिइन्।







