काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा प्रहरी नायब निरीक्षक (सई)विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले प्रहरी वृत्त मालीगाउँमा कार्यरत प्रहरी नायब निरीक्षक दिनेश राउतविरुद्ध बैंकिङ कसुरसम्बन्धी मुद्दामा सहजीकरण गरिदिने नाममा सेवाग्राहीबाट रकम लिएको अभियोगमा आरोप पत्र दायर गरेको हो
।
आयोगका अनुसार चेक अनादरसम्बन्धी मुद्दा मिलापत्र गराइदिने भन्दै सेवाग्राहीसँग रकम मागिएको भन्ने उजुरीपछि टंगालस्थित आयोगको टोलीले राउतलाई २० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानका क्रममा उनले मुद्दा सहजीकरणको नाममा विभिन्न बहाना बनाएर सेवाग्राहीलाई हैरानी दिँदै रकम असुलेको पुष्टि भएको आयोगले जनाएको छ ।
उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत २० हजार रुपैयाँ बिगो कायम गरी कैद तथा जरिवानाको मागसहित मुद्दा दायर गरिएको हो ।







