काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले कृषि अनुसन्धान क्षेत्रका कार्यक्रमका लागि आवश्यक बजेट अभाव हुन नदिने सरकारको नीति रहेको बताएका छन् ।
ललितपुरमा शुक्रबार आयोजित नेपाल कृषि अनुसन्धान परिषद्को ३५औँ वार्षिकोत्सव समारोहमा बोल्दै सचिव मिश्रले कृषि अनुसन्धानलाई सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गरे ।
उनका अनुसार अनुसन्धानसँग सम्बन्धित स्पष्ट र ठोस प्रस्ताव प्राप्त भएमा तत्काल बजेट व्यवस्था गर्न सरकार तयार रहनेछ । साथै, आवश्यक परेका बेला कार्यक्रम सञ्चालनका लागि स्रोत सुनिश्चित गर्न सकिने अवस्था रहेको उनले बताए ।
सचिव मिश्रले कृषि अनुसन्धानसँग सम्बन्धित गतिविधिहरूलाई निरन्तरता दिन बजेट अभावको समस्या आउन नदिने प्रतिबद्धता दोहोर्याए ।
उनले मन्त्रालय अन्तर्गत रिक्त रहेका दरबन्दी पूर्तिका लागि आवश्यक नीतिगत तथा कानुनी प्रक्रिया अघि बढाइएको जानकारी दिँदै भविष्यमा जनशक्ति अभाव हुन नदिने व्यवस्था मिलाइँदै गरेको पनि स्पष्ट पारे ।







