काठमाडौँ । लुम्बिनी बौद्ध विश्वविद्यालयले चिनियाँ विद्यार्थी फु च्याङलाई अन्तर्राष्ट्रिय शिक्षा तथा सांस्कृतिक आदान-प्रदान दूतका रूपमा औपचारिक रूपमा नियुक्त गरेको छ ।
विश्वविद्यालय प्रशासनले उनलाई उक्त जिम्मेवारीसहितको प्रमाणपत्र उपकुलपति प्राध्यापक डा सुवर्णलाल बज्राचार्यमार्फत प्रदान गरेको हो ।
विश्वविद्यालयका अनुसार फु च्याङले विदेशी विद्यार्थी भर्ना प्रवर्द्धन, अन्तरसांस्कृतिक सहकार्य विस्तार तथा शैक्षिक पहुँच अभिवृद्धिमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएका कारण उनलाई उक्त दायित्व प्रदान गरिएको हो ।
सन् २०२५ देखि सोही विश्वविद्यालयमा बौद्ध दर्शन अध्ययनरत उनले अध्ययनसँगै सामाजिक तथा विकासमूलक गतिविधिहरूमा पनि सक्रियता देखाउँदै आएका छन् ।
चीनबाट प्राप्त सहयोग परिचालन गर्दै उनले ग्रामीण क्षेत्रमा खानेपानीको लागि इनार निर्माण तथा विश्वविद्यालयको पुस्तकालय सुदृढीकरणमा योगदान पुर्याएको जानकारी विश्वविद्यालयले दिएको छ ।
नवनियुक्त दूत फु च्याङले बौद्ध दर्शनको अध्ययनलाई थप गहिरो बनाउँदै अन्तर्राष्ट्रिय स्तरमा बौद्ध शिक्षाको विस्तारमा योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले नेपालस्थित एक मात्र बौद्ध विश्वविद्यालयको पहिचानलाई विश्वस्तरमा प्रवर्द्धन गर्दै बौद्ध धर्मको मूल सन्देशलाई व्यापक रूपमा प्रस्तुत गर्ने लक्ष्य रहेको पनि बताएका छन् ।
विश्वविद्यालयले यस नियुक्तिले अन्तर्राष्ट्रिय सहकार्य र सांस्कृतिक आदान–प्रदानका गतिविधिलाई थप प्रभावकारी बनाउने अपेक्षा लिएको छ ।







