काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले आज राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । उनीहरूबीच शनिबार बिहान भेटवार्ता भएको हो ।
राष्ट्रपति पौडेलसँग नेता आङ्देम्बेको समसामयिक राजनीतिक विषयमा संवाद भएको सचिवालयले जनाएको छ। भेटमा आङ्देम्बेले अध्यादेशबारे विपक्षी दलहरूको धारणा पनि राष्ट्रपतिलाई अवगत गराएका थिए।
सरकारले बोलाइसकेको सदन रोकेर अध्यादेशको बाटो रोजेपछि विपक्षीहरूले विरोध जनाइरहेका छन्। विपक्षी दलको बैठक राखेर अध्यादेश जारी नगर्न माग गरेका आङ्देम्बेले शीलतनिवास पुगेर आफूहरूको धारणा जानकारी गराएका हुन्।
सरकारले विभिन्न अध्यादेशहरू जारी गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । जसमध्ये तीन वटा अध्यादेश जारी भइसकेका छन् ।







