काठमाडौँ । बागमती नदी किनारका जोखिमयुक्त बस्तीबाट स्थानान्तरण गरिएका नागरिकलाई लक्षित गर्दै सरकारले स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवा उपलब्ध गराउने उद्देश्यले विशेष शिविर सञ्चालन गरेको छ।
काठमाडौँको दशरथ रंगशालामा सञ्चालन गरिएको उक्त बहुआयामिक स्वास्थ्य शिविरमा विस्थापित व्यक्तिहरूको शारीरिक तथा मानसिक स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै विशेषज्ञ चिकित्सकहरूको संयुक्त टोली परिचालन गरिएको छ। वासस्थान गुमाउनुपर्दा देखिन सक्ने स्वास्थ्य समस्या र मानसिक तनाव व्यवस्थापनका लागि सेवा केन्द्रित गरिएको हो।
शिविर सञ्चालनमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको नेतृत्व रहेको छ भने कान्ति बाल अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल तथा पाटन मानसिक अस्पतालका विशेषज्ञ चिकित्सकहरू समेत संलग्न रहेका छन्। हालसम्म ६८ जना विस्थापित नागरिकले उक्त शिविरमार्फत स्वास्थ्य सेवा लिइसकेका छन्।
उक्त शिविरमा बालरोग, स्त्रीरोग, दन्त स्वास्थ्य तथा मनोसामाजिक परामर्शसम्बन्धी सेवा प्रदान गरिएको छ। विशेष गरी बसोबास गुमाउँदा उत्पन्न हुने मानसिक तनाव र सम्भावित स्वास्थ्य जोखिमलाई ध्यानमा राख्दै पाटन मानसिक अस्पतालको टोलीले मनोसामाजिक परामर्श सेवा उपलब्ध गराइरहेको स्वास्थ्य सेवा विभागले जनाएको छ।
सेवा लिने क्रममा आवश्यक औषधि तथा परामर्श नि:शुल्क रूपमा प्रदान गरिएको छ। जटिल स्वास्थ्य अवस्था भएका बिरामीहरूको हकमा सम्बन्धित सरकारी अस्पतालमा थप उपचारका लागि रिफर गर्ने व्यवस्था पनि मिलाइएको छ।
यसैबीच, कीर्तिपुर क्षेत्रमा पनि वीर अस्पतालको समन्वयमा छुट्टै स्वास्थ्य शिविर सञ्चालन भइरहेको छ। उक्त शिविरमा विशेष गरी आँखा र दन्त स्वास्थ्य सेवाप्रति सेवाग्राहीको उल्लेख्य उपस्थिति देखिएको छ।
काठमाडौँ महानगरपालिका र स्वास्थ्य सेवा विभागको समन्वयमा सञ्चालन भइरहेका यी शिविरहरूमा आवश्यक जनशक्ति तथा औषधि व्यवस्थापन प्रभावकारी रूपमा गरिएको सम्बन्धित निकायले जनाएको छ।







