काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कार्यसंयोजक समितिको बैठक जारी रहँदा शनिबारसम्म सकिने अपेक्षा गरिएको छ।
पार्टी मुख्यालय पेरिसडाडाँमा जारी बैठकमा अहिलेसम्म ३२ जना नेताहरूले आफ्नो धारणा राखिसकेका छन्, जसले ४५ सदस्यीय समितिको बहुपक्षीय छलफललाई व्यापक बनाएको छ। नेताहरूले एक घण्टा भन्दा बढी समय लिएर विचार व्यक्त गरिरहेका छन्।
बैठक प्रतिनिधि सभाको निर्वाचनको समीक्षा र आगामी रणनीतिमा केन्द्रित छ। २२ घटक मिलेर बनेको नेकपा १७ सीटमा सीमित भएपछि आगामी कार्यदिशा र रणनीति पुनर्विचारको आवश्यकता देखिएको छ।
संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेताहरूको धारणा सुनेपछि उठेका प्रश्नहरूको जवाफ दिने र बैठकले आगामी निर्णय गर्ने बताए। यस बैठकमा समसामयिक राजनीतिक परिस्थिति, संगठनात्मक एकता, पार्टी पुनर्गठन र कार्य योजना लगायतका विषयमा छलफल भइरहेको छ।
संयोजक ‘प्रचण्ड’ले आगामी ६ महिनाभित्र पार्टीको एकता महाधिवेशन गर्ने प्रस्ताव राखेका छन्। तर, पछिल्लो राजनीतिक परिवर्तनपछि युवा नेताहरूले नेतृत्व हस्तान्तरण गरी पार्टीलाई नयाँ ढंगले अघि बढाउन दबाब बढाएका छन्।







