काठमाडौँ । आदिवासी जनजाति आयोगको आर्थिक वर्ष २०८१/८२’ को वार्षिक प्रतिवेदन राष्ट्रिय सभासमक्ष पेस गरिएको छ ।
सभाको आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सो प्रतिवेदन सभासमक्ष पेस गरिन् ।
त्यसैगरी राष्ट्रिय सभाको आजको बैठकले सभाका पूर्व सदस्य रामचन्द्र भट्टराईको निधनमा शोक प्रस्ताव पारित गरेको छ । अध्यक्ष नारायणप्रसाद दाहालले सभामा प्रस्तुत गरेको सो प्रस्ताव सभाले सर्वसम्मतिले पारित गरेको हो ।
विसं १९९८ असोज ९ गते जन्मिएका भट्टराईको ८४ वर्षको उमेरमा गत माघ १३ गते निधन भएको थियो । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता भट्टराई २०५६ सालमा राष्ट्रिय सभा सदस्य थिए ।
सभामा शोक प्रस्ताव सर्वसम्मतिले पारितपश्चात् उनको निधनप्रति शोक व्यक्त गर्न एक मिनेट मौन धारण गरियो थियो । राष्ट्रिय सभाको अर्को बैठक २०८२ चैत २५ गते बुधबार १:१५ मिनेटमा बस्नेछ ।







