काठमाडौँ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो आठ महिना (साउन–फागुन) मा मुलुकको शोधनान्तर स्थिति ६ खर्ब ५८ अर्ब ३५ करोड रुपैयाँ बचतमा रहेको छ। नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यो बचत ३ खर्ब १० अर्ब ३७ करोड रुपैयाँ थियो।
राष्ट्र बैंकका अनुसार विदेशबाट भित्रिने विदेशी मुद्राको मात्रा बाहिरिने भन्दा बढी हुँदा शोधनान्तर स्थिति बचतमा रहेको हो। शोधनान्तर स्थिति निश्चित अवधिमा आवासीय र गैरआवासीय व्यक्ति तथा संस्थाबीच भएका आर्थिक तथा वित्तीय कारोबारको समग्र विवरण हो।
यस अवधिमा अमेरिकी डलरमा शोधनान्तर बचत ४ अर्ब ६१ करोड पुगेको छ, जबकि अघिल्लो वर्ष सोही अवधिमा २ अर्ब २९ करोड थियो। त्यस्तै चालु खाता ५ खर्ब ५२ अर्ब ८५ करोडले बचतमा रहेको छ, जुन अघिल्लो वर्ष १ खर्ब ९७ अर्ब ३ करोड थियो। अमेरिकी डलरमा चालु खाता बचत ३ अर्ब ८८ करोड पुगेको छ।
खुद पुँजीगत ट्रान्सफर १२ अर्ब ५९ करोड पुगेको छ भने अघिल्लो वर्ष यस्तो ट्रान्सफर ६ अर्ब ४१ करोड थियो। यस अवधिमा १० अर्ब ८४ करोड रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको राष्ट्र बैंकले जनाएको छ।
रेमिट्यान्सलगायत विदेशी मुद्रा आप्रवाह वृद्धि भएका कारण बाह्य क्षेत्र सन्तुलनमा सुधार देखिएको हो। शोधनान्तर बचतले विदेशी मुद्रा सञ्चिति सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।







