काठमाडौँ । राष्ट्रिय किताबखानाले कर्मचारी सूचना प्रणाली (पिआइएस)अद्यावधिक नगरेका निजामती कर्मचारीलाई अनिवार्य रुपमा विवरण सच्याउन भनेको छ । विभागले कर्मचारी विवरण अद्यावधिक तथा सुधार गर्नुपर्ने दायित्व भएका कर्मचारीलाई अनिवार्य रूपमा विवरण सच्याउन आग्रह गरेको हो।
विभागका महानिर्देशक श्रवण कुमार पोखरेलका अनुसार सम्बन्धित कर्मचारीले आफ्नो विवरण विभागको वेबसाइटमा उपलब्ध फारममार्फत अद्यावधिक गरी इमेलमा पठाउनुपर्नेछ। उनले कर्मचारीले आफ्नो सूचना अद्यावधिक भए/नभएको अवस्था नागरिक एप वा विभागको वेबसाइटमा रहेको पीआइएस लगइनमार्फत जाँच गर्न सकिने जानकारी दिए।
प्राप्त विवरणलाई छिटो अद्यावधिक गर्न विभागले विशेष कार्यदल (डेडिकेटेड टिम) गठन गरी परिचालन गरिसकेको महानिर्देशक पोखरेलले प्रशासनलाई बताए।
विभागले यही चैत ६ गतेदेखि सुरु गरेको ई-पेन्सन सेवा प्रभावकारी कार्यान्वयनका लागि पनि यो सूचना अद्यावधिक अभियान महत्वपूर्ण हुने जनाइएको छ। साथै, चालु चैत महिनाको अन्त्यसम्म अनलाइन सिट रोल दर्ता सेवा सञ्चालन गर्ने अन्तिम तयारी भइरहेको विभागले जनाएको छ।







