काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले आफ्नो कार्यकालमा निर्वाचन सञ्चालन गर्नु मुख्य उपलब्धि रहेको बताएका छन्।
जेन जेड आन्दोलनपछिको असामान्य परिस्थितिमा गठन भएको सरकारले निष्पक्ष निर्वाचन सुनिश्चित गर्न मुख्य प्राथमिकता राखेको उनको भनाइ छ।
अर्यालले निर्वाचन प्रक्रिया स्वच्छ, निष्पक्ष, भयरहित र रक्तपातविहीन रूपमा सम्पन्न गर्न सफल भएको दाबी गरेका छन्। उनले आफ्नो कार्यकालमा जेन जेड जन आन्दोलनका मागहरूलाई सम्बोधन गर्न विशेष ध्यान दिएको पनि बताएका छन्।
उनले छोटो अवधिमै गृह मन्त्रालयले नीतिगत र कानुनी क्षेत्रमा ठूलो प्रगति गरेको उल्लेख गर्दै आफूलाई ‘विशुद्ध व्यावसायिक व्यक्ति’को रूपमा परिचय दिएका छन्।
अर्यालले गृह प्रशासनमा सामूहिक नेतृत्वको भावना विकास गरेको बताए। सुरक्षा निकाय र कर्मचारीतन्त्रको मनोबल उच्च बनाउन मन्त्रालयले तल्लो तहबाट माथि (‘बटम-अप’) अप्रोच अपनाएको उनको भनाइ छ।







