काठमाडौँ । अफगानिस्तानको राजधानी काबुलमा रहेको एक अस्पतालमाथि भएको हवाई आक्रमणप्रति भारतले गम्भीर आपत्ति जनाएको छ। पाकिस्तानद्वारा उक्त आक्रमण गरिएको भनाइ सार्वजनिक भइरहँदा भारतले यस घटनालाई कडा शब्दमा निन्दा गरेको हो।
भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उक्त आक्रमणलाई “कायरतापूर्ण” र “अमानवीय” कार्यको रूपमा व्याख्या गर्दै सर्वसाधारण नागरिकमाथि भएको हिंसाप्रति चिन्ता व्यक्त गरिएको छ। मन्त्रालयका अनुसार कुनै पनि अवस्थामा अस्पतालजस्ता संरचनालाई सैन्य लक्ष्यका रूपमा लिनु अस्वीकार्य हो।
भारतले पाकिस्तानले उक्त घटनालाई सैन्य कारबाहीका रूपमा प्रस्तुत गर्न खोजेको आरोपसमेत लगाएको छ। साथै, यसलाई अफगानिस्तानको सार्वभौमसत्तामाथिको प्रत्यक्ष आक्रमणका रूपमा उल्लेख गर्दै दोषीलाई अन्तर्राष्ट्रिय स्तरमा जबाफदेही बनाइनुपर्ने माग गरिएको छ।
यसअघि अफगानिस्तानमा सत्तारूढ तालिबान प्रशासनले काबुलस्थित लागु औषध पुनर्स्थापना केन्द्रमा पाकिस्तानले आक्रमण गरेको आरोप लगाएको थियो। सो घटनामा ठुलो सङ्ख्यामा मानवीय क्षति भएको दाबी गरिएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उक्त आक्रमणमा ४०० भन्दा बढी व्यक्तिको मृत्यु भएको जनाइएको छ।
यता पाकिस्तानले भने काबुल र नान्गारहार क्षेत्रमा रहेका आतंकवादसम्बन्धी गतिविधिसँग जोडिएका लक्ष्यमाथि मात्र आफ्ना सुरक्षाकर्मीले कारबाही गरेको दाबी गर्दै आएको छ।







