काठमाडौँ । संयुक्त राष्ट्रसंघको महासभाले प्रत्येक वर्ष अप्रिल १५ लाई अन्तरराष्ट्रिय वेलनेस दिवसका रूपमा मनाउनका लागि नेपालले गरेको प्रस्ताव अनुमोदन गरेको छ ।
संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि एवं राजदूत लोकबहादुर थापाले उक्त प्रस्ताव महासभाको पूर्ण बैठकमा प्रस्तुत गर्नुभएको थियो । उक्त प्रस्तावलाई महासभाले सर्वसम्मत रूपमा अनुमोदन गरेको संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले आज जारी विज्ञप्तिमा उल्लेख गरेको छ ।
प्रस्ताव प्रस्तुत गर्दै राजदूत थापाले वेलनेसको अवधारणाले शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, भावनात्मक तथा वातावरणीय पक्ष समेट्ने र यसको मान्यता विश्वव्यापी रूपमा बढ्दै गरेको उल्लेख गरे ।
“विश्वव्यापी रूपमा देखिएको संकट र चुनौतीका हामीले विभिन्न प्रकारका स्वास्थ्य समस्या भोगिरहेका छौँ”, उनले भने, “वेलनेसको प्रवर्द्धनले मानसिक स्वास्थ्यलगायत नसर्ने रोगको आर्थिक भार घटाउन, समुदायको सहनशीलता सुदृढ गर्न र आर्थिक र सामाजिक विकासमा सहयोग गर्छ ।”
नेपालले अघि सारेको उक्त प्रस्तावलाई संयुक्त राष्ट्रसंघका ४० वटा सदस्य राष्ट्रले सह प्रायोजन गरेका थिए भने अन्य सदस्य राष्ट्रले समर्थन गरेका थिए ।
यसअघि संयुक्त राष्ट्रसंघमा नेपालका स्थायी नियोगले विभिन्न सदस्य राष्ट्रका प्रतिनिधिमण्डलहरूसँग पारदर्शी, समावेशी तथा सहमतिमूलक परामर्श गर्दै प्रस्तावलाई अन्तिम रूप दिएको थियो । नेपालले कुनै अन्तरराष्ट्रिय दिवस घोषणा गर्ने प्रस्ताव अघि सारेर अनुमोदन भएको यो पहिलो पटक भएको पनि नियोगले जनाएको छ ।







