कञ्चनपुर । कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ मा राष्ट्रि स्वतन्त्र पार्टी (रास्वपा)बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्रसिंह महताले आफ्नो विजयलाई परिवर्तन, सुशासन र पारदर्शिताको पक्षमा उभिएका सम्पूर्ण जनताको जित भएको बताएका छन् ।
महताले मतदाताहरूले आफूमाथि देखाएको विश्वास र भरोसालाई सधैँ सम्मान गर्दै जनहित, विकास र समृद्धिका लागि इमान्दारीपूर्वक काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।
निर्वाचनमा विजयी भएपछि मतदाताहरूलाई धन्यवाद ज्ञापन गर्दै महताले यो ऐतिहासिक सफलताका लागि साथ, समर्थन र विश्वास दिने सम्पूर्ण मतदाता, शुभेच्छुक, पार्टीका कार्यकर्ता तथा सहयोगीहरूप्रति हार्दिक आभार प्रकट गरे । उनले जनताको मतको कदर गर्दै आगामी दिनमा जनभावनाअनुसार अघि बढ्ने बताए ।
सांसद महताले निर्वाचनमा लोकतान्त्रिक प्रतिस्पर्धामा सहभागी भई जनतासामु आफ्ना एजेन्डा प्रस्तुत गर्ने निकटतम प्रतिस्पर्धी उम्मेदवारलाई पनि धन्यवाद दिए। लोकतन्त्रमा स्वस्थ प्रतिस्पर्धाले नै विचार, नीति र नेतृत्वलाई परिपक्व बनाउने उल्लेख गर्दै उनले आगामी दिनमा देश र समाजको हितका लागि सबै पक्षसँग सहकार्य गर्ने अपेक्षा राखेका छन् । महता २७ हजार ११८ मत प्राप्त गरी विजयी भएका छन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका हरिप्रसाद बोहराले नौ हजार ४४३ मत प्राप्त गरेका छन् ।







