काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले गौरमा भएको पछिल्लो तनावप्रति सद्भाव कायम गर्न अपिल गरेका छन् । शनिबार पत्रकारसँग कुराकानी गर्दै नेपालले सदियौँदेखि मिलेर बसेका हिन्दु र मुस्लिम दुवै समुदाय अझ पनि मिलेरै जान समुदायलाई आग्रह गरेका हुन् ।
उनले भने, ‘हिन्दु होस् वा मुस्लिम, जुनसुकै पनि परिवारको जीवन र सुरक्षा जोखिममा पर्नु हुँदैन । यस्तो अवस्था कुनै पनि हालतमा स्वीकार्य छैन । म दुवै समुदायलाई संयमता राख्न आग्रह गर्न चाहन्छु ।’
नेपाल रौतहट–१ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार पनि छन् । सोही क्षेत्रबाट उनी लामो समयदेखि संघीय संसद्मा प्रतिनिधित्व पनि गर्दै आएका नेता हुन् ।
उनले भने,‘दुवै समुदायले एक–अर्काको धर्म, संस्कृति एवं चाडपर्वको सम्मान गर्नु नै अहिलेको आवश्यकता हो ।’
अहिले देखिएको समस्याको समाधान पनि आपसी संवादबाट मात्रै सम्भव हुने बताउँदै उनले कोही पनि पक्ष उत्तेजनामा आएर सद्भाव खलबल्याउन नहुने पनि बताए ।







