काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा उपत्यकाभित्रका चार खाद्य व्यवसायमा अनुगमन गरी गुणस्तर तथा स्वच्छतासम्बन्धी कमजोरी फेला पारेको जनाएको छ।
विभागद्वारा जारी निरीक्षण–अनुगमन सम्बन्धी प्रेस नोटअनुसार ललितपुर महानगरपालिका–१२ स्थित दरबार क्याफे एण्ड रेस्टुरेन्टमा सरसफाइ सन्तोषजनक नरहेको, भान्छा तथा डस्टबिन नछोपी राखिएको, उपभोग्य मिति उल्लेख नभएको तथा परिकारमा बेरिएको चाउमिन फेला परेको उल्लेख छ। साथै कृत्रिम खाद्य रङ प्रयोग गरिएको र पेस्ट कन्ट्रोलको व्यवस्था नभएको पाइएको छ। सो क्रममा उत्पादन मिति नभएको र परिकारमा बेरिएको २ केजी चाउमिन नष्ट गरिएको विभागले जनाएको छ। देखिएका कैफियत सुधार गरी ७ दिनभित्र विभागमा पेश गर्न निर्देशन दिइएको छ।
त्यस्तै, काठमाडौँ महानगरपालिका–२२, न्यूरोड गेटस्थित शिव शंकर स्वीट एण्ड चाट हाउसमा भान्छाको सरसफाइ अपुग, पेस्ट कन्ट्रोलको व्यवस्था नभएको तथा कामदारको व्यक्तिगत सरसफाइ र पोसाक प्रयोगमा कमी देखिएको उल्लेख गरिएको छ। खाद्य पदार्थ फ्राई गर्न प्रयोग हुने तेलको टी.पी.एम. परीक्षण गर्दा मापदण्डअनुकूल पाइएको भए पनि खाद्य पदार्थ प्याक गर्न प्रयोग गरिँदै आएको २ केजी मसिजन्य कागज नष्ट गरिएको विभागले जनाएको छ। सरसफाइ कायम गर्न र मापदण्डअनुसार खाद्य योगशील प्रयोग गर्न निर्देशन दिइएको छ।
सोही क्षेत्रमा रहेको कनर ताजा गुडपाक भण्डारमा सरसफाइ सामान्य रहे पनि पेस्ट कन्ट्रोलको व्यवस्था नभएको पाइएको छ। उक्त व्यवसायलाई खाद्य स्वच्छता कायम गर्न, उत्पादन तथा उपभोग्य मिति सहितको सही लेबल भएका खाद्य पदार्थ मात्र बिक्री–वितरण गर्न तथा पेस्ट कन्ट्रोलको व्यवस्था मिलाउन निर्देशन दिइएको छ।
काठमाडौँ महानगरपालिका–२२ स्थित न्यू शानदार म:म पसलमा भान्छा अव्यवस्थित, खाद्य पदार्थ नछोपी राखिएको, डस्टबिन नछोपिएको तथा पेस्ट कन्ट्रोल र कामदारको व्यक्तिगत सरसफाइ अपर्याप्त रहेको पाइएको विभागले जनाएको छ। उक्त पसललाई अनावश्यक सामग्री भण्डारण नगर्न, खाद्य पदार्थ छोपेर उपयुक्त तापक्रममा राख्न, नियमित सरसफाइ कायम गर्न र गुणस्तरीय म:म मात्र बिक्री–वितरण गर्न निर्देशन दिइएको छ।
पछिल्लो समय विभागले बजार अनुगमन तथा निरीक्षणमा सक्रियता जनाउँदै आएको छ ।







