काठमाडौँ । भारत सरकारले नेपालको पशुपतिनाथ र झारखण्डको बैजनाथधाम जोड्ने नयाँ सडक करिडोर निर्माणको प्रस्ताव स्वीकृत गरेको छ।
भारतको केन्द्र सरकारले भागलपुर हुँदै जाने यस करिडोर निर्माणका लागि प्रशासनिक तयारी अघि बढाउन निर्देशन दिएको छ। बिहारका सडक निर्माण मन्त्री डा. दिलीप जैसवालले गत मंगलबार विधानसभामा उक्त जानकारी सार्वजनिक गरेका हुन्।
सन् २०२६-२७ को बिहार बजेटमा यस सडक निर्माणका लागि ८२ अर्ब ६० करोड भारतीय रुपैयाँ विनियोजन गरिएको छ।
प्रस्तावित ‘पशुपतिनाथ-सुपौल-वैद्यनाथधाम करिडोर’ सुल्तानगञ्जस्थित गंगा नदीमा निर्माण भइरहेको पुलमार्फत जानेछ। करिडोरको कुल लम्बाइ करिब २४० किलोमिटर रहने अनुमान गरिएको छ।
यस करिडोरको निर्माणले धार्मिक तथा सांस्कृतिक दृष्टिले दुई देशका तीर्थस्थलबीच पहुँच सहज हुने र क्षेत्रीय यातायात सुधारमा योगदान पुग्ने अपेक्षा गरिएको छ।







