काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले झापा-५ मा आफ्नो निर्वाचन अभियानका क्रममा दमकमा निर्माण गरिएको टावरलाई भ्यूटावर नभई व्यावसायिक केन्द्रका रूपमा विकास गरिएको बताएका छन्।
सोमबार घरदैलो कार्यक्रममा मतदातासँगको संवादमा उनले उक्त टावरलाई नयाँ प्रकारको आइटी हबको रूपमा अघि बढाइएको उल्लेख गर्दै, केही व्यक्तिहरूले यसलाई नबुझेको कारण विरोध गरिरहेको बताएका हुन्।
ओलीका अनुसार, “यो भ्यूटावर होइन, व्यावसायिक कम्प्लेक्स हो। नयाँ खालको आइटी हबको रूपमा यसलाई विकास गर्न थालेका हौँ। नबुझ्ने मान्छेहरूले यसको आवश्यकता किन छ भन्छन्। यो व्यक्तिगत वा परिवारको बसोबासको लागि होइन, ठाउँको विकासका लागि बनाइएको हो।”
टावरलाई भविष्यमा दमकको पहिचान र विकासको प्रतीकको रूपमा प्रस्तुत गर्दै उनले दमकलाई चिनाउने र यसको विकासमा टावरले योगदान पुर्याउने झन्डाको रूपमा यसलाई लिइएको बताएका छन्।







