काठमाडौँ । काठमाडौँमा रहेका १० वटै निर्वाचन क्षेत्रका मतदान केन्द्र तथा मतदाता तथ्यांक सार्वजनिक भएको छ। जिल्ला निर्वाचन कायालय काठमाडौँको तथ्यांक अनुसार जिल्लाभर कुल ७ लाख १० हजार ७०८ मतदाता सूचीकृत छन्। यसमध्ये महिला मतदाता ३ लाख ६४ हजार ५८५ र पुरुष मतदाता ३ लाख ४६ हजार ११६ रहेका छन्। अन्य लिंग पहिचानका मतदाता संख्या ७ जना रहेको देखिन्छ।
उक्त तथ्यांक अनुसार काठमाडौँ जिल्लामा कुल ३२० मतदान स्थल र ८१७ मतदान केन्द्र रहेका छन्।
निर्वाचन क्षेत्रगत विवरण
तथ्यांकअनुसार क्षेत्र नं. २ मा सबैभन्दा बढी मतदाता संख्या रहेको छ। यस क्षेत्रमा ८८ हजार ७०८ मतदाता सूचीकृत छन्, जसमा महिला ४३हजार ३९३ र पुरुष ४५ हजार ३१५ रहेका छन्।
त्यसपछि क्षेत्र नं. १ मा ४८ हजार ४ सय ८९ मतदाता छन्। यस क्षेत्रमा महिला मतदाता २५ हजार २५२ र पुरुष २२ हजार २३७ रहेका छन्।
क्षेत्र नं. ३ मा ६४ हजार ४७९, क्षेत्र नं. ६ मा ६७ हजार ५९१ तथा क्षेत्र नं. ७ मा ६७ हजार ७५९ मतदाता रहेका छन्।
कम मतदाता संख्या रहेको क्षेत्रका रूपमा क्षेत्र नं. ८ देखिएको छ, जहाँ ५७ हजार ८११ मतदाता सूचीकृत छन्।
महिला मतदाता अधिकांश क्षेत्रमा अग्रस्थानमा
उपलब्ध तथ्यांकले काठमाडौँ जिल्लाका अधिकांश निर्वाचन क्षेत्रमा महिला मतदाता संख्या पुरुषभन्दा बढी रहेको देखाएको छ। यसले स्थानीय तहदेखि संघीय निर्वाचनसम्म महिला सहभागिता उल्लेखनीय रहेको संकेत गर्छ।
प्रशासनिक तयारीका लागि आधार
निर्वाचन व्यवस्थापन, सुरक्षा योजना, मतदाता शिक्षा तथा स्रोत–साधन परिचालनका लागि यो तथ्यांक महत्वपूर्ण आधारका रूपमा प्रयोग हुने निर्वाचन प्रशासनको भनाइ छ।
जिल्लाभरको मतदाता संख्या, मतदान स्थल र केन्द्रको अवस्थिति मूल्यांकन गर्दै निर्वाचनलाई व्यवस्थित, पारदर्शी र सहभागितामूलक बनाउन आवश्यक तयारी अघि बढाइने जनाइएको छ।








