काठमाडौँ। नेपाली काँग्रेसको संस्थापन पक्षले आगामी निर्वाचनमा नेकपा एमालेसँग चुनावी गठबन्धन नगर्ने विषयमा आन्तरिक छलफल गरेको छ। पार्टी संस्थापन समूह, शेखर कोइराला समूह तथा विशेष महाधिवेशन प्रतिनिधिका केही नेताबीच भएको वार्तामा गठबन्धनबारे धारणा आदान–प्रदान भएको हो।
विशेष महाधिवेशन पक्षधरले निर्वाचन प्रक्रिया सुरु गरेपछि संस्थापन समूह वार्ताका लागि तयार भएको र सोहीअनुसार आज छलफल भएको जनाइएको छ। छलफलमा सहभागी एक नेताका अनुसार एमालेसँग चुनावी गठबन्धन नगर्ने विषयमा सकारात्मक वातावरण बनेको छ र संस्थापन समूह यस विषयमा लचिलो देखिएको छ।
छलफलमा भएका विषयबारे पार्टी सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई जानकारी गराउन संस्थापन समूहका नेता रमेश लेखक र बालकृष्ण खाँण देउवा निवास महाराजगञ्ज पुगेका छन्।
वार्तामा संस्थापन समूहबाट रमेश लेखक र बालकृष्ण खाँण, शेखर कोइराला समूहबाट मीनेन्द्र रिजाल र जीवन परियार तथा विशेष महाधिवेशन पक्षबाट प्रदीप पौडेल, देवराज चालिसे, मधु आचार्य र गुरु घिमिरे सहभागी थिए। नेताहरूबीच आजै तेस्रो चरणको छलफल हुने जनाइएको छ।







