काठमाडौँ। जिल्ला तहको गरिबीको दर करिब ५० प्रतिशतसम्म रहेको पाइएको छ । ‘गरिबीको लघुक्षेत्र अनुमान २०८१’ को नतिजाले यस्तो देखाएको हो ।
शुक्रबार राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको गरिबीको लघुक्षेत्र अनुमान प्रतिवेदन अनुसार जिल्ला तहमा गरिबीको दर न्यूनतम ५.६३ प्रतिशत देखि अधिकतम ४९.५८ प्रतिशतसम्म रहेको छ।
‘गरिबीको लघुक्षेत्र अनुमान २०८१’ को नतिजाले नेपालमा जिल्ला र स्थानीय तह अनुसार गरिबीको वितरणमा ठूलो असमानता रहेको देखाएको छ । स्थानीय तहको तथ्यांक हेर्दा गरिबीको दर १.१८ प्रतिशत देखि ७७.८९ प्रतिशतसम्म पुगेको छ।
नेपालका ३४ वटा जिल्लामा गरिबीको दर राष्ट्रिय औसत भन्दा कम रहेको छ भने ४३ वटा जिल्लामा गरिबीको दर राष्ट्रिय अनुमानभन्दा धेरै देखिएको छ।
७५३ स्थानीय तहमध्ये ३०९ वटा स्थानीय तहमा गरिबीको दर राष्ट्रिय औसत प्रतिशत २०.२७ प्रतिशतभन्दा कम पाइएको छ। तर, ४४४ वटा स्थानीय तहमा गरिबीको दर राष्ट्रिय अनुमान भन्दा धेरै रहेको छ।







