काठमाडौँ । उज्यालो नेपाल पार्टी रास्वपामा समाहित भएको विषयलाई लिएर आन्तरिक असन्तुष्टि सार्वजनिक भइरहँदा कोशी प्रदेश कमिटीले स्वागत गरेको छ ।
यद्यपि पहिचान पक्षधर केही नेता भन्दै यो प्रक्रियामा अलग्गिएका छन् । संरक्षक कुलमान घिसिङले पहिचानको मुद्दा छाडेर पार्टी विलय गराएको उनीहरूको आरोप छ ।
प्रदेश तदर्थ कमिटीले विज्ञप्ति निकाल्दै आम नागरिकको परिवर्तनको चाहनालाई यथार्थमा रूपान्तरण गर्न पार्टी एकीकरण भएको जनाएको छ । तदर्थ कमिटीका अध्यक्ष एवीराज आङ्दम्बे र प्रवक्ता केदार धिमालद्वारा हस्ताक्षरित विज्ञप्तिमा ‘पुराना भ्रष्ट प्रतिगामी तथा यथास्थिति शक्तिहरूलाई परास्त गर्न पार्टी एकीकरण भएको’ लेखिएको छ । सु-संस्कृत पार्टी निर्माण गर्ने भन्दै उनीहरूले प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । पूर्वघोषित पार्टीका सबै कार्यक्रम माथिल्लो कमिटीबाट अर्को सूचना नआएसम्म स्थगित गरिएको छ ।








