साना । यमन सरकारले संयुक्त राष्ट्रसंघको पहलमा पुनः सुरु हुन लागेको वार्ताको तयारीस्वरूप शुक्रबार ‘विद्रोही हुथी समूह’ का २६ सदस्यका शव हस्तान्तरण गरेको जनाएको छ । सरकारी टेलिभिजनमार्फत प्रसारित वक्तव्य अनुसार यी शव स्थानीय मध्यस्थमार्फत, अन्तर्राष्ट्रिय रेड क्रस समितिको प्रत्यक्ष निगरानीमा विद्रोही हुथी पक्षलाई बुझाइएका हुन् ।
सरकारले जनाएअनुसार, यी शव हालै मारिब र अल–जाउफ प्रान्तमा भएका छिटपुट भिडन्तमा मारिएका हुथी सदस्यका थिए । विद्रोही हुथी पक्षले मध्यस्थमार्फत उनीहरूको पहिचान पुष्टि गरेपछि मात्र शव हस्तान्तरण गरिएको राज्य सञ्चालित साबा समाचार एजेन्सीले जनाएको छ ।
सरकारी वार्ता समिति प्रमुख याह्या काजमानले यो एकतर्फी कदम बन्दी, बेपत्ता पारिएका व्यक्ति तथा अपहरण पीडितहरूको मुद्दा समाधानतर्फ प्रगति गर्न सरकारले देखाएको सद्भावको अभिव्यक्ति भएको बताए। साथै, यसले केही दिनमै सुरु हुन लागेको बन्दी–बिनिमयसम्बन्धी नयाँ वार्ताको वातावरण सहज बनाउने अपेक्षा व्यक्त गरे । विद्रोही हुथी समूहले यसबारे हालसम्म प्रतिक्रिया दिएको छैन ।
गत हप्ता यमनका लागि संयुक्त राष्ट्रसंघीय विशेष दूत हान्स ग्रुन्डबर्गले ओमानको राजधानी मस्कटमा आयोजित मध्यस्थता बैठकमा सहभागी भएको जानकारी दिँदै, यमनका द्वन्द्वरत पक्षबीचको शान्ति वार्ता चाँडै पुनः सुरु हुने संकेत दिएका थिए ।
यमन सरकार र विद्रोही हुथी समूहले यसअघि सन् २०२० मा दुवै पक्षले करिब एक हजार कैदीहरूको व्यापक आदान–प्रदान गरेका थिए ।
यमन सन् २०१४ उत्तरार्धदेखि नै गम्भीर गृहयुद्धको चपेटामा पर्दै आएको छ, जब विद्रोही हुथी समूहले राजधानी साना सहित देशका ठूलो भागमा नियन्त्रण कायम गरेको थियो । अप्रिल २०२२ मा संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा भएको युद्धविरामपछि मोर्चागत भिडन्तमा उल्लेख्य कमी आए पनि समग्र राजनीतिक समाधान भने अझै अनिश्चित नै छ ।







