नयाँ मुख्यसचिवको प्रश्न अब ‘को आउँछ ?’ मात्र होइन- ‘राष्ट्रको प्रशासनिक अभिभावक को बन्छ ?’ हो । जसले राजनीतिक तुफान थेग्दै निडर कमाण्ड लिन सकोस्, अनेकन् दबाब झेल्दै राष्ट्रहित रक्षा गरोस् र कमजोर सरकारमुनि पनि सुशासनको मेरुदण्ड बनोस् –त्यही व्यक्तित्व देशले खोजिरहेको छ ।
सरकारको शीर्ष प्रशासनिक नेतृत्वकर्ताको रूपमा चिनिने मुख्यसचिवको पद छिट्टै रिक्त हुँदैछ । मुख्यसचिव एकनारायण अर्याल अनिवार्य अवकाशतर्फ उन्मुख भइरहेका बेला निजामती सेवा, राजनीतिक वृत्त, व्यावसायिक समुदाय र बौद्धिक क्षेत्र सबैमा “अर्को मुख्यसचिवको हुने ?” भन्ने बहस स्वाभाविक रूपमा तीव्र बनेको छ । सम्भवतः अब बस्ने मन्त्रिपरिषद् बैठकले नयाँ मुख्यसचिवको नियुक्ति गर्नेछ ।
सिंहदरवारको निर्णय-मध्य धार, समग्र सार्वजनिक प्रशासनको गति, नीति कार्यान्वयन, सुशासन, सुरक्षा समन्वय र अन्तर्राष्ट्रिय प्रतिवद्धतासम्म सबै कुराको प्रभावकारी नेतृत्व मुख्यसचिवको क्षमतामा निर्भर हुन्छ । यही कारण, यो पदको चयन कुनै साधारण प्रशासनिक प्रक्रिया होइन; देशको आगामी प्रशासनिक दिशानिर्देशनसँग प्रत्यक्ष सम्बन्धित राष्ट्रहितको गम्भीर प्रश्न पनि बन्छ ।
देशले अहिले सामना गरिरहेको आर्थिक दबाब, राजनीतिक अस्थिरता, संघीय संरचनाको बहुपरत अभ्यास, निर्वाचन तयारी, सुरक्षा संवेदनशीलता, अन्तर्राष्ट्रिय वातावरणको बदलिँदो गति र डिजिटल सङ्क्रमणको चापले मुख्यसचिव पदलाई झन् चुनौतीपूर्ण बनाएको छ । यस्तो परिस्थितिमा देशले अब यस्तो व्यक्तित्व खोजिरहेको छ, जो केवल निजामती प्रशासनको ‘हेड’ मात्र नभई समग्र सार्वजनिक प्रशासनको अभिभावक बन्न सकुन् । पारदर्शी, निडर, तथ्यमा आधारित, हक्की, निष्पक्ष र दीर्घदृष्टियुक्त नेतृत्व यो पदका लागि अब अनिवार्य गुणहरूका रूपमा उभिएका छन् ।
स्थिर प्रशासनिक नेतृत्व र सुशासन सुनिश्चित गर्ने क्षमता
आजको अवस्थामा मुख्यसचिव निर्णय सिफारिसका भूमिकाभन्दा धेरै ठूलो, राज्य सञ्चालनको मेरुदण्ड हुन् । कार्यकाल स्थिरतासहित दीर्घकालीन योजनाहरूलाई निरन्तरता दिन सक्ने, प्रशासनिक सुधारलाई दिशानिर्देश गर्ने र सरकारका प्राथमिकतालाई नीति तथा कार्यक्रममार्फत परिणाममा रूपान्तरण गर्न सक्ने क्षमता नेतृत्व चयनको आधार बन्नुपर्छ ।
संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय अब केवल प्रक्रियागत होइन, शासन प्रणालीको प्रभावकारिता सुनिश्चित गर्ने मुख्य तत्त्व हो । जनमैत्री सेवा प्रवाह, पारदर्शिता, परिणाममुखी कार्यशैली र डिजिटल रूपान्तरणलाई संस्थागत रूपमा अघि बढाउन सक्ने प्रमुख सचिव नै वर्तमान आवश्यकता हो ।
त्यससँगै, कर्मचारीयन्त्रलाई ‘केवल प्रशासनिक इकाइ’ को रूपमा होइन, राष्ट्रको शासन संरचनाको आधारशिलाको रूपमा हेर्ने दृष्टिकोण आवश्यक छ । योग्यताको सम्मान, संस्थागत क्षमताको मजबुती, कर्मचारी प्रेरणा र राजनीतिक हस्तक्षेपबाट प्रशासनलाई सुरक्षित राख्ने क्षमता मुख्यसचिवको पहिलो ‘नेतृत्व’ परीक्षा हो ।
निर्वाचन, सुरक्षा र कानुनी दायित्वमा निडर र निर्णायक नेतृत्व
वर्तमान जटिल परिवेशमा सरकारको प्राथमिक दायित्व तोकिएको समयमै निर्वाचन सम्पन्न गर्नु हो । निर्वाचन आयोग प्रमुखविहीनताका बीच निर्वाचन व्यवस्थापन, तयारी, समन्वय र विश्वसनीयता कायम राख्ने जिम्मेवारी पनि अप्रत्यक्ष रूपमा मुख्यसचिवकै काँधमा बढी भार पर्ने देखिन्छ । गैर-राजनीतिक सरकारको राजनीतिक समन्वयदेखि निर्वाचनमा तटस्थता सुनिश्चित गर्ने भूमिकासम्म सबैमा सक्षम प्रशासनिक नेतृत्वबाटै त्यो अपेक्षा गर्न सकिन्छ ।
साथै, राष्ट्रिय सुरक्षा चुनौतीहरू बहुआयामिक बन्न पुगेका छन्, पछिल्लो जेन जेड आन्दोलनको राप र ताप अझै सेलाई नसकेको र स्पष्ट आकारसमेत लिई नसकेको अवस्थामा सबैभन्दा टड्कारो आवश्यकता यसको ‘सेफल्याण्डिङ हो । त्यसबाहेक साइबर सुरक्षा, सीमा व्यवस्थापन, आर्थिक अपराध, खुफिया संवेदनशीलता र आपतकालीन अवस्थाको व्यवस्थापन जस्ता विषयहरू नियमित सुधार खोजिरहेका छन् नै । गृह, रक्षा, विदेश, खुफिया निकाय, स्थानीय प्रशासन र निर्वाचन संयन्त्रबीच सूक्ष्मतर समन्वय गर्न सक्ने रणनीतिक क्षमता अपरिहार्य छ ।
मुख्यसचिवले घरेलु राजनीतिक दबाब मात्र होइन, अन्तर्राष्ट्रिय शक्ति केन्द्रको चासो, कूटनीतिक परिस्थितिको संवेदनशीलता र सुरक्षा रणनीतिक चुनौतीहरूसँग जुध्न सक्ने निडरता राख्नुपर्छ । कानुनी सुधार, आपतकालीन नीति र संवेदनशील निर्णयमा तथ्यमा आधारित दृढता भने अनिवार्य गुण पनि बन्न पुगेको छ ।
आर्थिक सुशासन, अन्तर्राष्ट्रिय समझदारी र व्यापारिक संवेदनशीलता
नेपालको आर्थिक चुनौती अब एकै मन्त्रालयको सीमाभित्र समेटिन सक्दैन । यसको संयोजन सरकारका सबै संरचनासँग जोडिएको हुन्छ र त्यसको केन्द्रमा मुख्यसचिव रहेको हुन्छ । बैंकिङ, बीमा, कर प्रशासन, आयात–निर्यात, उत्पादन–वितरण, निजी क्षेत्रको अपेक्षा, विदेशी लगानी, विकास साझेदारहरूसँगका सम्झौता र बजार प्रवृत्तिलाई सूक्ष्म रूपमा बुझ्न सक्ने नेतृत्व बिना अर्थतन्त्र गतिशील बन्न सक्दैन ।
राजस्व स्थिरीकरण, बजेट कार्यान्वयन, विकास योजनाको गति, निजी–सार्वजनिक सहकार्य र आर्थिक जोखिम व्यवस्थापनमा मुख्यसचिवले गहिरो आर्थिक तथा कूटनीतिक समझ राख्नुपर्छ ।
छिमेकी राष्ट्र, बहुपक्षीय संस्थान, विकास साझेदार र अन्तर्राष्ट्रिय शक्तिकेन्द्रसँग तथ्य, तर्क र राष्ट्रिय प्राथमिकतामा आधारित संवाद गर्न सक्ने क्षमता आजको मुख्यसचिवको पहिचान हुनुपर्छ ।
नवप्रवर्तन, डिजिटल रूपान्तरण र नयाँ पुस्ताको अपेक्षा पूरा गर्ने नेतृत्व
आजको प्रशासनिक सेवा कागज–कलम र पुरानो रीतिथिति भित्र सीमित छैन । नागरिक सेवा, अभिलेखीकरण, प्रतिवेदन प्रणाली, आर्थिक विवरणदेखि सुरक्षासम्म, सबै क्षेत्र डिजिटल युगमा प्रवेश गरिसकेका छन् ।
युवापुस्ताको पारदर्शिता, चाँडो सेवा, डिजिटल पहुँच र परिणाममुखीताको अपेक्षा प्रशासनिक सुधारको मूल चालक बनेको छ । यसैले मुख्यसचिवमा नवप्रवर्तनलाई संस्थागत गर्ने, इ–गभर्नेन्सलाई द्रुत गतिमा अघि बढाउने र डाटा–आधारित निर्णय प्रणालीलाई सरकारी संरचनामा जडान गर्ने दृष्टि आवश्यक छ ।
डिजिटल शासन, खुला सरकारी डाटा, ब्युरोक्रेसीको डिजिटाइजेसन र सेवा प्रवाहमा प्राविधिक दक्षता, यी सबै मुख्यसचिव नेतृत्वको अनिवार्य आधार स्तम्भका रूपमा उभिएका छन् ।
राजनीतिक समन्वय, सिभिल सुप्रेमेसी र राष्ट्रिय हितको रक्षा
मुख्यसचिव राजनीतिक समन्वयका केन्द्रिय कडी भएकाले प्रधानमन्त्री–मन्त्रिपरिषद्को प्राथमिकताबाट लिएर संवैधानिक निकायहरूसँगको संवादसम्म प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । तर राजनीतिक समन्वयको नाममा राजनीतिक निकटता होइन-निष्पक्षता र सन्तुलन मुख्य गुण हुनुपर्छ ।
सिभिल सेवा र सुरक्षा निकायबीच सन्तुलन, अन्तर्राष्ट्रिय तथा घरेलु शक्ति–केन्द्रका चासोबीच राष्ट्रहितलाई सुरक्षित राख्ने कूटनीतिक परिपक्वता र संवेदनशील अवस्थाहरूमा निडर, हक्की र तथ्यमा आधारित निर्णय लिने क्षमता मुख्य सचिवको निर्णायक पहिचान हो ।
मुख्यसचिवले सिभिल प्रशासनको संरक्षण, योग्यताको सम्मान, अनुशासन, पारदर्शिता, जनउत्तरदायित्व र कर्मचारीयन्त्रलाई एउटै लक्ष्य, राष्ट्र हिततर्फ उन्मुख गराउने नेतृत्व प्रदान गर्नुपर्छ । यही कारण, मुख्यसचिवलाई देशको प्रशासनिक “अभिभावक” मानिन्छ ।
अन्त्यमा : अब देशले खोजिरहेको मुख्यसचिव कस्तो त ?
नेपालको वर्तमान राजनीतिक-आर्थिक-सुरक्षा-कूटनीतिक जटिलताबीच मुख्यसचिव पद अब केवल प्रशासनिक औपचारिकता होइन, राष्ट्रको भविष्य दिशा निर्धारण गर्ने नेतृत्वको पद बन्न पुगेको छ । देशलाई अहिले यस्तो मुख्यसचिव आवश्यक छ:
जो स्थिर, निडर र तथ्यमा आधारित निर्णय गर्न सक्ने होस्
जसको दृष्टि प्रशासनमा मात्र नभई समग्र सार्वजनिक शासन प्रणाली वरिपरि घुमेको होस्
जो राजनीतिक समन्वयमा निष्पक्ष र कूटनीतिक रूपमा सन्तुलित होस्
जो अन्तर्राष्ट्रिय दबाबसँग जुधेर राष्ट्र हितमा प्रशासनिक कमाण्ड लिन सकोस्
जो पारदर्शी, हक्की, सुधारमुखी र जनउत्तरदायी होस्
र जसले कर्मचारीयन्त्रलाई प्रेरित गर्दै सशक्त, स्थिर र परिणाममुखी प्रशासनिक संरचना निर्माण सकोस् ।
अब प्रश्न केवल “को नियुक्त हुन्छ ?” भन्ने होइन, कसले राष्ट्रको प्रशासनिक भविष्य सुरक्षित गर्न आवश्यक नेतृत्व प्रदान गर्छ ?” ले बढी अर्थ राख्दछ । यही प्रश्नको उत्तरले आगामी दिनहरूमा नेपाली प्रशासनिक र राजनीतिक दिशानिर्देशन दुवै निर्धारण गर्नेछ ।







