काठमाडौँ । चितवनका नेकपा माओवादी केन्द्रका विभिन्न तहका कार्यकर्ताहरूले प्रगतिशील राष्ट्रिय अभियान समाहित भएको घोषणा गरेका छन् ।
आइतबार चितवनको भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरेर उनीहरूले कम्युनिष्ट एकतामा सहभागी नभई देश र जनता र युगबोध अनुसार नयाँ ढंगले राजनीतिक पुनर्गठन गर्ने उद्देश्यले प्रगतिशील राष्ट्रिय अभियानमा समाहित भएको घोषणा गरेका हुन् ।
प्रगतिशील राष्ट्रिय अभियान चितवन जिल्ला घोषणा गर्दै चितवनका संयोजक दीपक शाहीले देशमा सुशासन स्थापना भ्रष्ट्राचार नियन्त्रणका युगबोध अनुसारको राजनीतिक दल निर्माण गर्दै एक व्यक्तिवादी निरंकूश केन्द्रीयतामा चल्दै आएको पार्टी सञ्चालन पद्धतिलाई अन्त्य गरिने बताए ।
जनताद्वारा जनतामाथि चल्ने विशुद्ध जनवादी संरचना तथा शासन प्रणाली स्थापित गर्ने मूल लक्ष्य हुने उनको भनाइ छ ।
त्यस्तै प्रगतिशील राष्ट्रिय अभियानमा समाहित भएका नेता सुदर्शन पौडेलले जेनजी आन्दोलनपछि पनि दलहरू सच्चिने अवस्था नदेखिएपछि एकता प्रक्रियाबाट अलग भएको बताए । मुलुकमा राजनीतिक परिवर्तन भए पनि जनताको समस्या समाधान हुन नसकेपछि जेनजी विद्रोह भएको र अव सबैले त्यसको भावनालाई आत्मसाथ गर्नुपर्नेमा उनको जोड छ ।
कार्यक्रममा अन्य नेताहरूले देशलाई जनताको चाहना अनुरूप अघि बढाउनका लागि प्रगतिशील राष्ट्रिय अभियानमा समाहित हुन आह्वान गरेका थिए ।







