काठमाडौँ । धनकुटाको सागुरीगढी गाउँपालिकामा कार्यरत योजना अधिकृत दोर्ण राईमाथि पालिकाकै वडाध्यक्षले कुटपिट गरेका छन्।
गाउँपालिकाको वडा नम्बर १ का वडाध्यक्ष गोविन्द लिम्बूले अधिकृत राईमाथि कार्यकक्षमै कुटपिट गरी घाइते बनाएका हुन्।
आक्रमणबाट अधिकृत राईको अनुहारमा गम्भीर चोट लागेको छ। धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गरेर राई आज घर फर्किएका छन् । राईका अनुसार डक्टरले रिटीस्क्यान गर्न सुझाव दिएका छन् । केही दिनमा फलोअपका लागी जाने उनले बताएका छन् ।
घाइते अधिकृत राईका अनुसार वडाध्यक्ष लिम्बूले सम्झौता नै नगरेको खेलकुद कार्यक्रमको एक लाख रुपैयाँ भुक्तानी माग गरेका थिए।
आफूले सम्झौता नभएको योजनाको रकम वितरण गर्न कानुनअनुसार नमिल्ने बताएपछि लिम्बू आक्रामक बनेर कुटपिट गरेको अधिकृत राईले बताएका छन्।
राईमाथिको आक्रमणपछि गाउँपालिकाका सम्पूर्ण कर्मचारी आन्दोलित भएका छन्। उनीहरूले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै आक्रमणकारी वडाध्यक्ष लिम्बूलाई तत्काल कारबाही गर्न र कर्मचारीहरू स्वतन्त्र रूपमा काम गर्न पाउने वातावरण सुनिश्चित गर्न माग गरेका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘कर्मचारीको सुरक्षामा सरकार गम्भीर नभए हामी कठोर आन्दोलनका कार्यक्रम ल्याउन बाध्य हुनेछौँ। घटनापश्चात् गाउँपालिकाको दैनिक कामकाज आंशिक रूपमा प्रभावित भएको छ।’
आरोपित वडाध्यक्ष लिम्बूले भने योजना अधिकृत राईले उपभोक्ता समितिको रकम भुक्तानी नगरेको र सुरुमा आफूमाथि नै आक्रमण गरेको दाबी गरेका छन्।







